टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चिनियाँ सरकार सकारात्मक : अर्थमन्त्री डा. महत

टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चिनियाँ सरकार सकारात्मक : अर्थमन्त्री डा. महत : Icon Khabar
अर्थमन्त्री डा. महत

नुवाकोट, भदौ ३० । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएको छ । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको तीज शुभकामना कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘यो परियोजनालाई अगाडि बढाउन मैले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छु । यद्यपि यसका लागि धेरै पैसा लाग्छ । हाम्रो श्रोतले नपुग्न सक्छ, यो परियोजना निर्माणका लागि हामीले चिनियाँ सरकार समक्ष प्रस्ताव पठाएका छौं । उहाँहरुबाट सकरात्मक जवाफ आएको छ ।’

उनले भने, ‘पत्रको आदान–प्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो । हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जाँदै छन्, यो परियोजनाको तयारीमा हामी लागेका छौं । प्रधानमन्त्रीको भ्रमणको सिलसिलामा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ ।’

प्रारम्भिक यसको अध्ययन भइसकेको जानकारी दिदै मन्त्री डा. महतले भने, ‘अब थप डिपिआरसहितको अध्ययन भएपछि निर्माण प्रकृया अगाडि बढ्छ । सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो । धेरै पक्षमा ध्यान पुर्याउनुपर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ । अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ ।’

‘निर्माणको काम भौतिक मन्त्रालयले, श्रोत जुटाउने काम अर्थमन्त्रालय र वातावरणसम्बन्धी के असर पर्छ भनेर अनुमति लिने काम वन मन्त्रालयबाट भएको जानकारी दिदै उनले भने, ‘यहाँ तिनवटै मन्त्रालयले आएर हेरेको छ । निकुन्जमा पनि समस्या छैन भन्ने कुरा आएको हुनाले निर्माण कार्य अगाडि बढ्छ ।’

सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र होइन, रसुवा नाकासम्म स्तरोन्नति हुन्छ । पृथ्वी राजमार्गको ट्राफिक र अन्तर्राष्ट्रिय व्यापारका लागि यही बाटो सबैभन्दा छोटो हुने मन्त्री डा. महतले बताए । उनले भने, ‘यसले नुवाकोट जिल्लाभरि नै आर्थिक गतिविधि बढ्छ, रोजगारी सिर्जना हुन्छ, व्यापार बढ्छ । पर्यटक बढ्छन्, कृषिजन्य उत्पादन बढ्छ । यसले नागरिकको आम्दानी बढाउने छ । हामीले खोजेको त्यही हो ।’

यी आयोजना निर्माण हुँदा सबैभन्दा बढी प्रभाव लिखु गाउँपालिकामा पर्ने उनले बताए । त्यसपछि शिवपुरी र पञ्चकन्या गाउँपालिकामा पनि पर्छ । उनले भने, ‘ढिकुरे र सिम्ला सिँचाइ आयोजना अर्को महत्वपूर्ण पक्ष हो । यो आयोजना बनेको धेरै भयो । पटक पटक मर्मत भयो । पुनः मर्मतका लागि यसपटक पुग्ने गरी बजेट विनियोजन भएको छ । गंगटेदेखि समुद्रटार हुँदै गोल्फु भन्जाङसम्मको बाटोलाई पूरा गर्ने लक्ष्यका साथ हामीले ठेक्का प्रकृया अगाडि बढाइसकेका छौं । यो कार्यान्वयन भएपछि यातायातमा सुधार हुन्छ ।’

कार्यक्रममा उनले भने, ‘काठमाडौंसँग जोडिएको नुवाकोट जिल्ला डा. रामशरण महत अर्थमन्त्री भएपछि विकासमा जोडिएको बताए । स्कुल, अस्पताल र सिँचाइको सञ्जाल निर्माण भयो । त्यसपछि नुवाकोटवासीले उन्नति र प्रगति गर्ने अवसर पाए । हजारौं नुवाकोटवासीले रोजगारीमा अवसर पाए । यसलाई हामी निरन्तरता दिन चाहन्छौं ।’

‘म ऊर्जा वा परराष्ट्रमन्त्री हुँदा नुवाकोटलाई कसरी समृद्ध बनाउने, यहाँको जनजीवनलाई कसरी माथि उठाउने भनेर काम गर्दै आएको छु । अहिले सबै ठाउँमा विजुली पुगेको छ । मध्य पहाडी राजमार्ग नुवाकोट हुँदै जान्छ’ मन्त्री डा. महतले भने, ‘चीनसँग जोडिने रसुवागढी नाकाबाट काठमाडौं जोड्ने सडकलाई स्तरोन्नति गर्ने र छहरे–टोखा सुरुङ मार्गमार्फत् अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाएर नुवाकोटलाई काठमाडौं नजिक पुर्याउने योजना छन् । नुवाकोटमै बसेर काठमाडौंमा व्यवसाय गर्न सकिने वातावरण बनाउन म रातदिन खटिरहेको छु ।’

Published Date: 16 September 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता