नेशनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

नेशनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने : Icon Khabar

काठमाडौं, असार २९ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले आज (असार २९ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार १ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ ३२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार ९४३ रुपैयाँ ५५ पैसा रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार ९१५ रुपैयाँ ३३ पैसा पुग्नेछ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीमा ७.५ मेगावाटको ईन्द्रावती ३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ। त्यसैगरी, २०७८ सालमा सोही नदीमा ४.५ मेगावाटको तल्लो ईन्द्रावती जलविद्युत आयोजनाको इजाजत पत्र लिई निर्माण कार्य अघि बढाइएको छ। भोजपुर जिल्लामा १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रो पावर कम्पनी मार्फत भइरहेको छ।

कम्पनीको २५ औँ वार्षिक साधारण सभाले सुनकोशी हाइड्रो पावरलाई १ बराबर ०.२५ अनुपातमा प्राप्त गरेको थियो। प्राप्तिपश्चात कम्पनीले २०७९ असोज १४ गतेदेखि एकिकृत कारोबार शुरु गरेको थियो। सो कम्पनी मार्फत कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजत पत्र नेपाल सरकारले रद्द गरेपश्चात सो आयोजनाको निर्माणको लागि लगानी भएको ऋण समेत नेशनल हाइड्रोपावरले भुक्तानी गरेको थियो। नेपाल सरकारले सो आयोजना लिलाम बढाबढ प्रकृया मार्फत उपलब्ध गराउने निर्णय गरेसँगै नेशनल हाइड्रोपावरले सो इजाजत पत्र प्राप्त गरी उक्त आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ।

कम्पनीले हकप्रद शेयरबापतको रकम सोही आयोजनामा लगानी गर्न लागेको हो। उक्त कम्पनी निर्माण भइ रहेको अवस्थामा विभिन्न परिस्थितीको कारणले गर्दा निर्माण पुरा गर्न नसकी बिचैमा छोड्नु परेको हुनाले आयोजना निर्माण गर्दा लिएको ऋण तिर्न नसक्ने स्थितिको कारणले गर्दा आयोजनाको निर्माण समयमा सम्पन्न गर्न नसकेका कारण आयोजनाको लाइसेन्स खारेज भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 July 2023
Website | + posts