राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका माननीय पदाधिकारीहरुलाई भक्तपुर नगरपालिकामा स्वागत

राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका माननीय पदाधिकारीहरुलाई भक्तपुर नगरपालिकामा स्वागत : Icon Khabar

भक्तपुर, असार १३ । राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका माननीय पदाधिकारीहरुद्वारा बुधबार भक्तपुर नगरपालिका र नगरपालिकाद्वारा सञ्चालित अस्पताल तथा कलेजको अध्ययन अवलोकन भ्रमण गरेको छ ।

संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति मा. जयन्तीदेवी राईको नेतृत्वमा समितिका माननीय सदस्यहरुले प्रदेश तथा स्थानीय तहको कानुन निर्माण प्रक्रिया र भक्तपुर नगरपालिकाका असल अभ्यासबारे अनुभव आदानप्रदानको उद्देश्यले आज भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेको हो ।

टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, खादा र भादगाउँले टोपीसहित ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा स्वागत गरेको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति मा. जयन्तीदेवी राईले संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापना गर्ने बाटोमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि अग्रसर भएको बताउँदै संघीय लोकतान्त्रिक व्यवस्थालाई सफल तुल्याउन स्थानीय तहहरुलाई अधिकार सम्पन्न पार्नुपर्ने धारणा राखे ।

भक्तपुर नपाबाट सञ्चालित कलेज र ख्वप अस्पताल भ्रमण गर्ने अवसर पाएकोमा खुशी प्रकट गर्दै उनले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा सराहीय काम गरिरहेको बताए ।

भक्तपुरको विकासको मोडल प्रशंसनीय भएको र भक्तपुर अहिले सबैको लागि अध्ययन गर्ने थलोको रुपमा विकास भएको बताउँदै उनले भ्रष्टाचारशून्य र पारदर्शिता नै यस नगरको विशेषता भएको बताए ।

सांसद राईले स्थानीय तहले आफ्नो अधिकार र कर्तव्य पहिचान गरी संविधानअनुरुप ऐन, नियम र कानुनहरु निर्माणमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको संक्षिप्त जानकारीसहितको प्रस्तुतीकरण देखाउँदै नेपालको संविधानले कल्पना गरेको समाजवादउन्मुख व्यवस्था स्थापनामा भक्तपुर नगरपालिकाले जोड दिँदै आइरहेको बताए ।उनले विकास निर्माणको काम गर्ने स्थानीय तह हुँदा हुँदै संसद विकास कोषको व्यवस्था उचित नभएको धारणा ब्यक्त गरे ।

नेपालमा संघीयता कार्यान्वयनका चुनौतीहरुबारे विस्तृतमा आफ्नो धारणा राख्दै उनले स्थानीय तहलाई संघ र प्रदेशले आफ्नो एकाइ जस्तो व्यवहार गर्नु यथोचित नभएको बताउँदै संविधानको भावनाअनुरुप स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने विचार राखेको थियो ।

सांसदहरुद्वारा व्यक्त जिज्ञासामाथि प्रष्ट पार्दै उनले भक्तपुर नपाले आवश्यक ऐन, नियम, कार्यविधि र निर्देशिका तयार गरी कार्यान्वयन गर्दै आइरहेको जानकारी गराउँदै हालसम्म २५ वटा ऐन, ३ वटा नियम, ६ वटा विनियम, १३ वटा कार्यविधि, ९ वटा निर्देशिका र १ वटा नीति गरी कूल ५६ वटा कानुन निर्माण गरिसकेको जानकारी गराए ।

ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक पहल भइरहेको बताउँदै उनले विश्वविद्यालय स्थापना गर्न नगरपालिकाले भौतिक पूर्वाधारहरु निर्माणको क्रममा रहेको अवगत गराए ।

नगरपालिकालाई विश्वविद्यालय सञ्चालन गर्न स्वीकृति प्राप्त भएको खण्डमा सस्तोमा मेडिकल कलेज स्थापना गरी एमबीबीस अध्यापन गराउने लक्ष्य रहेको बताउँदै उनले सक्षम स्थानीय तहलाई विश्वविद्यालय स्थापना गर्न दिनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तथा विधायन व्यवस्थापन समितिका माननीय सांसदहरुले नगर प्रमुख प्रजापतिसमक्ष स्थानीय तहको कानुन निर्माणमा देखिएका चुनौती, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तरसम्बन्ध, स्थानीय तहको काम, कर्तव्य र अधिकार, संघले कानुन निर्माणमा ढिलाइ गर्दा स्थानीय तहमा पर्न गएको असुविधा, ख्वप विश्वविद्यालय सम्बन्धनका चुनौती आदिबारे आफ्नो जिज्ञासा राखेको थियो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भक्तपुर नगरपालिकाले कानुन निर्माण गर्दा देखिएका चुनौतीबारे बोल्नुभएको थियो भने समितिका उपसचिव नुमराज खनालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेको थियो ।

टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङलगायतको स्थलगत अवलोकन गनुभई ती संस्थाहरुको इतिहास, स्थापनाको उद्देश्य, त्यहाँबाट प्रवाहित सेवा सुविधा, सांगठनिक स्वरुप, विद्यार्थी भर्ना संख्याको आधारमा भर्ना विवरण, शिक्षक तथा कर्मचारी विवरण र कलेजहरुमा अध्ययापन भइरहेको विषय तथा शुल्क संरचनाबारे विस्तृतमा जानकारी हासिल गरेको थियो ।

उक्त अध्ययन भ्रमणमा समितिका सभापति मा. जयन्ती देवी राईसहित मा. उदय बहादुर बोहरा, मा. खिमलाल देवकोटा, मा. गंगा कुमारी वेल्वासे, मा. तारामान स्वार, मा. देवेन्द्र दाहाल, मा. नारायण दत्त मिश्र, मा. भगवती न्यौपाने, मा. भैरव सुन्दर श्रेष्ठ, मा. राधेश्याम पासवान, मा. सुरेश कुमार आलेमगर, मा. अनिता देवकोटा, समितिका उपसचिव नुमराज खनाल र संघीय सचिवालयका अधिकृत कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी र भक्तपुर नपाका कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रमुख प्रजापतिले माननीय सांसद राईलाई मयुरको झ्याल र नगरपालिकाका प्रकाशन तथा कलेजका प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 June 2023
Website | + posts