ललिता निवास जग्गा प्रकरणमा आरोप लागेका पूर्वप्रधानमन्त्रीहरूलाई संसदमा स्पष्टीकरण दिन सांसद सुवालको माग

ललिता निवास जग्गा प्रकरणमा आरोप लागेका पूर्वप्रधानमन्त्रीहरूलाई संसदमा स्पष्टीकरण दिन सांसद सुवालको माग : Icon Khabar

काठमाडौं, असार १३ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वप्रधानमन्त्रीहरूलाई संसदमा स्पष्टीकरण दिन माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । त्यसैगरी, उनले संसदको सार्वजनिक लेखा समितिले मन्त्री र अन्य कर्मचारीसँग यस मुद्दामा स्पष्टीकरण माग्नु उपयुक्त हुने बताए ।

सांसद सुवालले सरकारी जग्गा बेचबिखनमा संलग्नलाई कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘बालुवाटारस्थित ललिता निवासको १३ अर्ब ७६ करोड रुपैयाँ बराबरको १४३ रोपनी ६ आना सरकारी जग्गा गैरकानुनी रुपमा अतिक्रमण गरेको आरोपमा केही पूर्व पदाधिकारी पक्राउ परेका छन् ।

२०७८ पुस ६ मा जिल्ला अदालत काठमाडौंले जग्गा हिनामिनाका २२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि सरकारी वकिलको कार्यालयले अनुसन्धान पूरा नभएको भन्दै चार दिनपछि फिर्ता पठाएको थियो । उक्त गिरोहले पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुको संलग्नतामा सन् १९९२ देखि २०१० सम्म सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी बिक्री गरेको खुलासा भएको छ । यस विषयमा संसदले पूर्वप्रधानमन्त्रीहरूलाई स्पष्टीकरण सोध्नु आवश्यक छ। सार्वजनिक लेखा समितिले अन्य पूर्वप्रधानमन्त्री, मन्त्री आदिको ध्यानाकर्षण गराउनुपर्छ ।”

सांसद सुवालले जग्गा प्रकरणमा संलग्न सबैलाई छानबिनको दायरामा ल्याउन सरकारले ढिलाइ गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 June 2023
Website | + posts