काठमाडौं, कार्तिक १५ । नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मानित गरिएको छ। शनिबार कथ्मंदुमा आयोजित ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’ को समारोहमा सिंहलाई उक्त उपाधि प्रदान गरिएको हो।
नेपाली फिल्म क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि अभिनयमार्फत योगदान पुर्याउँदै आएकी सिंहलाई उनको कलात्मक यात्रा, उपलब्धि र नेपाली कला तथा संस्कृतिको प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।
सन् १९९३ मा निर्देशक तुलसी घिमिरेको फिल्म ‘दक्षिणा’बाट अभिनय यात्रा सुरु गरेकी सिंहले ‘रहर’, ‘मितज्यू’, ‘दर्पणछाया’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘ठूलदाइ’, ‘बन्धकी’, ‘चाँदनी’, ‘को आफ्नो को विरानो’, ‘नाता रगतको’, ‘खानदान’, ‘दाल भात तरकारी’ र ‘३६ को आँकडा’लगायत दर्जनौँ फिल्ममा अभिनय गरेकी छन्।
सशक्त अभिनय, विशिष्ट व्यक्तित्व र दर्शकमाझ स्थापित पहिचानका कारण नेपाली फिल्म क्षेत्रमा छुट्टै स्थान बनाउन सफल सिंह अभिनयसँगै गायनमा पनि रुचि राख्छिन्। उनले नेपाल टेलिभिजनबाट प्रसारण भएको पारिवारिक धारावाहिक ‘वंश’को शीर्षगीतमा स्वर दिनुका साथै ‘दीपशिखा’ नामक म्युजिक एल्बमका लागि पनि गीत गाएकी छन्।
फिल्म क्षेत्रबाट केही समय विश्राम लिएर भारतको मुम्बईमा बसोबास गर्दै आएकी सिंहले सन् २०१९ मा मह जोडीको फिल्म ‘दाल भात तरकारी’मार्फत अभिनयमा पुनरागमन गरेकी थिइन्। नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएकी उनलाई नेपाल सरकारले सन् २०२३ मा प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको थियो।
अभिनेत्री सिंहलाई मानार्थ उपाधिबाट सम्मान गर्नु नेपाली फिल्म क्षेत्रमा उनको योगदानको कदर र नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले बताए।
यसअघि अभिनेत्रीहरू करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई पनि मानार्थ ‘मिसेस नेपाल वर्ल्ड’को उपाधिबाट सम्मानित गरिसकिएको छ।
यसैबीच, ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’को अन्तिम स्पर्धामा मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी)को पनि सहभागिता रहेको थियो।
Published Date: 01 November 2026