कोदारी तातोपानी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल

कोदारी तातोपानी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल : Icon Khabar

काठमाडौं, असोज १३ । नेपाल र चीन जोड्ने कोदारी नाकालाई थप सहज र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले नेपाल सरकारको उच्चस्तरीय प्रतिनिधि मण्डलले स्थलगत निरीक्षण एवं संयुक्त अनुगमन गरेको छ।

परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले चिनियाँ पक्षसँग छलफल गर्दै सीमा क्षेत्रमा देखिएका समस्या र राजमार्गको अवस्थाका बारेमा ध्यानाकर्षण गराएको हो। परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग र सडक डिभिजन चरीकोटका अधिकारीहरू सम्मिलित टोलीले सिन्धुपाल्चोकका सुरक्षा निकाय र प्रशासनका प्रतिनिधिहरूसँग समन्वय गरी नाकाको वर्तमान अवस्थाबारे जानकारी लिएको हो। अनुगमनका क्रममा विशेष गरी नाकासम्म पुग्ने राजमार्गको भौतिक अवस्था र सञ्चालनमा रहेका प्राविधिक कठिनाइहरूको सूक्ष्म विश्लेषण गरिएको छ।

टोलीले सडकको भौतिक अवस्थाका कारण नाका सञ्चालनमा दीर्घकालीन अवरोध आउन नदिने र आपूर्ति प्रणालीलाई सहज बनाउने निष्कर्ष निकालेको छ। अनुगमनपछि आयोजित बैठकमा नेपाली पक्षले चिनियाँ प्रतिनिधिहरूसँग सीमा नाकालाई थप गतिशील बनाउन तथा दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन आवश्यक पूर्वाधार सुधारमा सहकार्य गर्न आग्रह गरेको छ।

सीमा क्षेत्रको सडक मर्मत र सुधारका लागि तत्काल काम अघि बढाउने र नाका सञ्चालनमा देखिएका व्यावहारिक जटिलताहरू समाधान गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ। प्रशासनले पनि सुरक्षा र व्यवस्थापनका लागि आफूहरू तयार रहेको प्रतिबद्धता जनाएको छ। यो उच्चस्तरीय पहलले लामो समयदेखि विभिन्न कारणले प्रभावकारी बन्न नसकेको तातोपानी नाकालाई पूर्ण क्षमतामा सञ्चालन गर्न थप बल पुग्ने विश्वास लिइएको छ।

Published Date: 29 September 2026