काठमाडौं, असोज १३ । सेयरबजार परिसूचक नेप्सेमा दोस्रो दिन मंगलबारपनि गिरावट आएको छ ।
आज नेप्से ९.६२ अंकले घटेर २ हजार ६०३.७१ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३६३ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ६९ कम्पनीका सेयरमूल्य बढेका छन् भने १९९ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । दश कम्पनीका सेयरमूल्य स्थिर रहेका छन् ।
आज कुल १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर ५१ हजार २७४ कारोबारबाट ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा १३.५७ प्रतिशतले कम हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये निर्जीवन बीमा तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् ।
बाँकी सबै समूहका परिसूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै व्यापार समूहको परिसूचक १.८७ प्रतिशतले घटेको छ । आइसीएफसी फाइनान्स लिमिटेडका डिवेञ्चरमा लगानीकर्ता, सयपत्री हाइड्रोपावर लिमिटेड, नेपाल एसविआई बैंकका डिवेञ्चरमा लगानीकर्ता, सर्वोत्तम पेन्ट्स इन्ड्रष्टिज तथा सानीमा ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।
सबैभन्दा बढी गुमाउनेमा भने सिटिजन सुपर थर्टी म्युचुअल फण्ड, आरवीवी म्युचुअल फण्ड, मेगा म्युचुअल फण्ड,धौलागिरी लघुवित्त वित्तीय संस्था तथा एपोलो हाइड्रोपावर लिमिटेडका सेयरधनी रहेका छन् । आज सेयर कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी लिमिटेड अग्रस्थानमा रहेको छ । यस कम्पनीको २२ करोड ९९ लाख ६० हजार ८३५ रुपैयाँ बराबरका सेयर कारोबार भएका छन् ।
Published Date: 29 September 2026