काठमाडौँ, असोज १२ । प्रयासना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’को प्रतिष्ठित उपाधि जितेकी छन्। काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजित भव्य ग्रान्ड फिनालेमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै २४ वर्षीया गुरुङले उपाधि आफ्नो नाममा गरेकी हुन्।
ग्लोबल ग्ल्यामर भेन्चर्सले आयोजना गरेको प्रतियोगितामा झापाकी २७ वर्षीया बिनिता ओलीले ‘मिस अर्थ नेपाल २०२६’को उपाधि जितेकी छन्।
बेलायतमा बस्दै आएकी प्रयासना महिला सशक्तिकरणको क्षेत्रमा सक्रिय छिन्। उनले ‘द डिग्निटी प्रोजेक्ट’मार्फत नेपाली महिलाका लागि डिजिटल मार्केटिङ, वित्तीय साक्षरता तथा उद्यमशीलतासम्बन्धी निःशुल्क अनलाइन कार्यशाला सञ्चालन गर्दै आएकी छन्।
प्रतियोगिताको निर्णायक मण्डलमा बलिउड अभिनेत्री तथा पूर्व मिस युनिभर्स इन्डिया सेलीना जेटली, मोडल मनिका विश्वकर्मालगायत रहेका थिए।
उपाधिसँगै प्रयासना गुरुङले पोर्तो रिकोमा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मिस युनिभर्स’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्। त्यस्तै, बिनिता ओलीले फिलिपिन्सको मनिलामा आयोजना हुने ‘मिस अर्थ’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
Published Date: 28 September 2026