काठमाडौं, असोज ९ । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गर्दै आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा परम्परागत तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइँदै छ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाउने परम्परा रहेको छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्राको औपचारिक सुरुवात हुने गर्दछ। आठ दिनसम्म मनाइने यस पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ।
इन्द्रजात्राका क्रममा लिंगोको फेदमा भैरवको पूजा–आराधना गरिनुका साथै विभिन्न परम्परागत नाचगान तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिन्छ। यस अवसरमा जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा निकालिनुका साथै विभिन्न देवीदेवताको पूजा–आराधना गर्ने परम्परा छ।
पौराणिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछि खुसीयाली मनाउने क्रममा इन्द्रजात्रा पर्वको सुरुवात भएको विश्वास गरिन्छ। धार्मिक आस्था, ऐतिहासिक महत्व र मौलिक सांस्कृतिक परम्परासँग जोडिएको इन्द्रजात्रा काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ।
Published Date: 25 September 2026