भक्तपुर, भदौ २७ । नेपालकी प्रथम महिला धिमे तथा नौ बाजावादक इन्दिरा लाछिमस्युको जीवनमा आधारित बायोपिक चलचित्र **‘इन्दिरा धिमे मैंचा’**ले भक्तपुरमा उत्साहजनक दर्शक प्रतिक्रिया पाएको छ। भक्तपुर क्लब बागमतीमा आज आयोजित विशेष प्रदर्शनीमा चलचित्रका बिहान ८ बजे, ११ बजे, दिउँसो २ बजे र ५ बजेका चारवटै शो हाउसफुल भएका छन्।
चलचित्र हेर्न दर्शकको खचाखच उपस्थिति रहेको थियो। प्रदर्शनपछि दर्शकहरूले चलचित्र निकै राम्रो रहेको प्रतिक्रिया दिएका छन्। विशेषगरी इन्दिरा लाछिमस्युको जीवन संघर्ष, धिमे तथा नौ बाजाप्रतिको समर्पण र नेपाली मौलिक संस्कृतिको संरक्षणमा उनले पुर्याएको योगदानलाई चलचित्रमा प्रस्तुत गरिएको भन्दै दर्शकहरूले प्रशंसा गरेका छन्।
भक्तपुरको तचपालमा जन्मिएकी तथा हाल भक्तपुर नगरपालिका–५ निवासी लाछिमस्युको जीवनमा आधारित यस बायोपिकको अन्तिम छायांकन भक्तपुरको टौमढी परिसरमा सम्पन्न भएको थियो। आगामी दशैँलाई लक्षित गर्दै प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा वरिष्ठ वाद्यवादक लाछिमस्युको जीवनका विभिन्न संघर्ष, अनुभव र यात्रालाई कथाका रूपमा प्रस्तुत गरिएको छ।
लाछिमस्युले आफू ११ वर्षको उमेरदेखि नेवार समुदायको मौलिक बाजा धिमे बजाउन सुरु गरेकी हुन्। विसं २०५१ सालतिर महिलाले बाजा बजाउन त परै जाओस्, बाजागाजा छुनसमेत हुँदैन भन्ने सामाजिक सोच रहेको समयमा उनले धिमे बाजा सिक्न निकै संघर्ष गर्नुपरेको थियो।
उनका बाजे र बुबा दुवै धिमे तथा नौ बाजाका गुरु थिए। घरमा दैनिकजसो बाजा सिक्न केटाहरूको टोली आउने गरे पनि सामाजिक मान्यताका कारण आफूले सिक्न नपाएको अवस्था थियो। तर बाजाप्रतिको उनको रुचि र चाहना भने निरन्तर रहिरह्यो।
एकदिन घरमा कोही नभएको समयमा लाछिमस्युले घरमा रहेको धिमे बाजा बजाउने प्रयास गरिन्। त्यही समयमा घरमा आएका गुरुले बाजाको आवाज सुनेपछि माथि पुगेर हेर्दा इन्दिराले बाजा बजाइरहेको देखे। उनको प्रतिभा देखेर गुरु खुसी भएपछि उनले औपचारिक रूपमा धिमे र नौ बाजा सिक्ने अवसर पाइन्। त्यसपछि सुरु भएको उनको सांगीतिक यात्रा आज करिब तीन दशक लामो भइसकेको छ।
लाछिमस्युले हालसम्म एक हजारभन्दा बढी प्रशिक्षार्थीलाई धिमे तथा नौ बाजाको प्रशिक्षण दिइसकेकी छन्। नेपाली मौलिक बाजागाजा, विशेषगरी धिमे र नौ बाजाको संरक्षण तथा संवर्द्धनमा निरन्तर सक्रिय उनी नयाँ पुस्तालाई मौलिक बाजाको महत्व र सीप हस्तान्तरण गर्ने अभियानमा समेत सक्रिय छिन्। उपत्यकामा आयोजना हुने विभिन्न मौलिक बाजागाजा प्रतियोगितामा उनले निर्णायकको भूमिकासमेत निर्वाह गर्दै आएकी छन्।
उनैको जीवन संघर्ष र योगदानलाई पर्दामा उतार्दै बी.के. फिल्म्सको ब्यानरमा ‘इन्दिरा धिमे मैंचा’ निर्माण गरिएको हो।
चलचित्रका मुख्य निर्माता गोपाल कृष्ण महर्जन रहेका छन् भने सुरेन्द्र शाक्य, गोविन्द महर्जन, सह-निर्माता डा. कृष्ण कुमार श्रेष्ठ, रञ्जना जोशी, गंगा मानन्धर, संजय शाक्य (कोलोराडो, अमेरिका) र उत्तम प्रधान (जापान) निर्माता टोलीमा रहेका छन्।
चलचित्रको निर्देशन सुरेन्द्र तुलाधरले गरेका छन्। चलचित्रमा इन्दिरा लाछिमस्युको भूमिकामा रोजिना सुवाल, उनका श्रीमान् किशोर ढुकुछुको भूमिकामा रुपेन श्रेष्ठ, बुबा पंचलाल लाछिमस्युको भूमिकामा राजाराम भाम तथा आमा कृष्णमाया लाछिमस्युको भूमिकामा नगिना जोशीले अभिनय गरेका छन्।
त्यस्तै गुरुहरूको भूमिकामा देव चन्द्र बज्राचार्य र लक्ष्मी कुमार महर्जन, ससुराको भूमिकामा मदनकृष्ण श्रेष्ठ तथा सासुआमाको भूमिकामा विजय लक्ष्मी मानन्धर रहेका छन्।
भक्तपुरमै जन्मिएकी इन्दिरा लाछिमस्युको जीवन र संघर्षलाई पहिलोपटक पर्दामा प्रस्तुत गरिएको यस बायोपिकले मौलिक नेवारी संस्कृति तथा नेपाली बाजागाजाको संरक्षणमा महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।
आजको विशेष प्रदर्शनीमा चारवटै शो हाउसफुल हुनु र दर्शकबाट सकारात्मक प्रतिक्रिया आउनुले ‘इन्दिरा धिमे मैंचा’प्रति भक्तपुरमा दर्शकको उत्साह र चासो उच्च रहेको देखाएको छ।