काठमाडौं, भदौ ९ । सेयरबजार परिसूचक नेप्से तीनदिन लगातार ओरालो लागेको छ । मंगलबार नेप्से ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा कायम भएको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ ।
आज सेयरबजारमा ३५७ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ७८ कम्पनीका सेयरमूल्य बढेका छन् भने १८७ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । बाह्र कम्पनीका सेयरमूल्य स्थिर रहेका छन् । आज कुल १ करोड ४४ हजार १६४ कित्ता सेयर ४६ हजार ५८९ कारोबारबाट ४ अर्ब १० करोड ९७ लाख ५२ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा २६.८५ प्रतिशतले बढी हो ।
आज सेयरबजारमा सूचीकृत समूहमध्ये विकास बैंक तथा निर्जीवन बीमा समूहका परिसूचकमात्रै सकारात्मक रहेका छन् । बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै वित्त समूहको परिसूचक ०.९१ प्रतिशतले घटेको छ । सर्वोत्तम पेन्टस् इन्ड्रष्टिज,क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स् लिमिटेड, नाडेप लघुवित्त वित्तीय संस्था, एभरेष्ट कलर लिमिटेड तथा कालिञ्चोक हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।
सबैभन्दा बढी गुमाउनेमा भने धौलागिरी लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड, नविल बैंकको डिवेञ्चरमा लगानीकर्ता, सिटिजन सन्तुलित योजना तथा उन्नति सहकार्य लघुवित्त वित्तीय संसथाका सेयरधनी रहेका छन् ।
Published Date: 25 August 2026