भक्तपुर, साउन २९ । नेपाली सुगम संगीतका लोकप्रिय गायक तथा संगीतकर्मी स्वर्गीय अरुण थापाको २७औँ स्मृति वर्षको अवसरमा भक्तपुरमा भोलि विशेष सांगीतिक श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
भक्तपुर सांगीतिक समाजको आयोजनामा कार्यक्रम भक्तपुर–१, श्रीजनानगरस्थित मोडर्न स्कुल/कलेजमा शनिबार दिउँसो १ बजेदेखि सुरु हुनेछ।
नेपाली संगीतमा स्वर्गीय अरुण थापाले पुर्याएको अतुलनीय योगदानको स्मरण तथा सम्मान गर्दै उनका कालजयी गीत–संगीत प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। विशेषगरी नयाँ पुस्तामाझ अरुण थापाको सिर्जना र सांगीतिक योगदानलाई परिचित गराउने उद्देश्यसमेत कार्यक्रमको रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा थापाका लोकप्रिय गीतहरू प्रस्तुत गरिनेछन्। ‘जति माया लाए पनि’, ‘ऋतुहरूमा तिमी’, ‘आँखाको निन्द खोसिलाने’, ‘चोट के हो, व्यथा के हो’ लगायत उनका चर्चित गीतमार्फत उनको सांगीतिक यात्रालाई सम्झना गरिनेछ।
अरुण थापाका गीत नेपाली सुगम संगीतका सदाबहार सिर्जनाका रूपमा स्थापित छन्। प्रेम, पीडा, संवेदना र जीवनका विविध अनुभूतिलाई सरल तर गहिरो ढंगले प्रस्तुत गरेका उनका गीत आज पनि संगीतप्रेमी पुस्तामाझ उत्तिकै लोकप्रिय छन्।
कार्यक्रमलाई मोडर्न स्कुल/कलेज र खुकुरी हाउस नेपालले सहयोग गरेका छन्। त्यस्तै, भिभिड कन्सल्टेन्ट्स, आर्गस एजुकेशन भक्तपुर सूर्यविनायक, खुकुरी हाउस, काठमाडौँ फन भ्याली र ग्रेट वाल टुर्स एन्ड ट्राभल सहयोगीका रूपमा रहेका छन्।
कार्यक्रमको फोटोग्राफी पार्टनरका रूपमा ट्रायङ्गल फोटो स्टुडियो तथा भिडियो पार्टनरका रूपमा ग्लोबल प्रोडक्सन रहेका छन्। त्यसैगरी रेडियो पार्टनरमा भक्तपुर एफएम १०५.४ र अनलाइन मिडिया पार्टनरमा आइकन खबर डटकम रहेका छन्। कार्यक्रमको डिजाइन पार्टनरका रूपमा वयजु रहेको आयोजकले जनाएको छ।
विभिन्न संस्था, व्यवसाय तथा सञ्चारमाध्यमको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमले अरुण थापाको सांगीतिक योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै भक्तपुरको सांगीतिक गतिविधिलाई समेत थप ऊर्जा दिने अपेक्षा गरिएको छ।
भक्तपुरमा यसअघि पनि अरुण थापाको स्मृतिमा विभिन्न सांगीतिक कार्यक्रम आयोजना हुँदै आएका छन्। यसपटकको कार्यक्रमलाई संगीतकर्मी, कलाकार, संगीतप्रेमी तथा शुभेच्छुकहरूको सहभागितामा विशेष बनाउने तयारी गरिएको भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले आइकन खबरलाई जानकारी दिए।
भोलि शनिबार दिउँसो १ बजेदेखि मोडर्न स्कुल/कलेज, श्रीजनानगर, भक्तपुर–१ मा आयोजना हुने कार्यक्रममा सबै संगीतप्रेमीका लागि प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ।
Published Date: 14 August 2026