काठमाडौं, साउन २९ । नेपालमा पदयात्रा तथा पर्यटनलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन संरचित तथ्यांकको प्रभावकारी प्रयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
नेपालमा निर्मित पदयात्रा सुरक्षा एप ट्रेलम्यापरले जुलाई ३१ अर्थात् साउन १५ गते काठमाडौंको नक्सालस्थित काठमाडौं मेरियट होटलमा आयोजना गरेको ‘हाउ स्ट्रक्चर्ड डेटा क्यान मेक नेपाल्स टुरिजम सेफर एन्ड स्मार्टर’ विषयक प्यानल छलफलमा सहभागी सरोकारवालाले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सुधन सुवेदी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अशोक सुवेदी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाई तथा जीआईएस तथा विपद् जोखिम विज्ञ राजु चापागाईं सहभागी थिए। कार्यक्रमको सहजीकरण अच्छता शाक्यले गरेकी थिइन्।
छलफलका क्रममा नेपालका विभिन्न पर्यटन तथा सरकारी निकायमा पदयात्रीको सुरक्षाका लागि आवश्यक धेरै तथ्यांक उपलब्ध भए पनि ती तथ्यांक प्रमाणीकरण नभएका, पुराना वा विभिन्न निकायमा छुट्टाछुट्टै रहेको विषय उठाइएको थियो। मौसम मापन केन्द्रको सीमितता तथा स्थानीय, प्रदेश र संघीय तहका निकायबीच तथ्यांक आदानप्रदानको अभावलाई पनि प्रमुख चुनौतीका रूपमा औंल्याइएको थियो।
विज्ञ राजु चापागाईंले नेपालमा उपलब्ध तथ्यांक पहिचान गरी त्यसलाई प्रमाणीकरण गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार पर्यटन सुरक्षा तथा व्यवस्थापनका लागि आवश्यक तथ्यांक संकलन र प्रयोगको विषय लामो समयदेखि योजनामै सीमित हुँदै आएको छ।
ट्रेलम्यापरका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक स्वर्णिम रत्न शाक्यले पर्यटन क्षेत्रको सुरक्षा र पर्यटकको अनुभव सुधार गर्न यस्ता छलफल आवश्यक रहेको बताए। उनले पर्यटन क्षेत्रको तथ्यांक तथा सूचना प्रणालीलाई थप एकीकृत गर्न नीति निर्माण र निर्णय प्रक्रियामा अझ प्रभावकारी पहल आवश्यक रहेको धारणा राखे।
ट्रेलम्यापरले पदयात्रीलाई एकीकृत ट्रेल वेपोइन्ट, आवाससम्बन्धी जानकारी तथा आपत्कालीन सम्पर्क उपलब्ध गराउने मोबाइल एपका रूपमा काम गरिरहेको जनाएको छ। एपको जमाचो पदयात्रा तथा गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने त्सो रोल्पा पदयात्रामा फिल्ड परीक्षणसमेत भइसकेको छ। कम्पनीले वास्तविक समयको पदमार्ग तथा मौसमको अवस्थाअनुसार परिवर्तन हुन सक्ने ‘एडप्टिभ इटिनरेरी’ सुविधाको विकास गरिरहेको जनाएको छ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच प्रश्नोत्तर तथा अन्तरक्रिया भएको थियो। पर्यटन सुरक्षा र नेपालमा तथ्यांक पूर्वाधार विकासका लागि आगामी दिनमा सहकार्यलाई निरन्तरता दिन विभिन्न सहभागी तथा संस्थाले चासो व्यक्त गरेका थिए।
ट्रेलम्यापर नेपालमै निर्माण गरिएको मोबाइल एप हो, जसले पदयात्रीको सुरक्षाका लागि पदमार्ग, आवास तथा आपत्कालीन सम्पर्कसम्बन्धी सूचनालाई एकीकृत गर्ने उद्देश्य राखेको छ।
Published Date: 14 August 2026