डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!

भगवानको दर्शन गर्न पुगेका भक्तजन औपचारिक कार्यक्रमबाटै दिक्क, मन्दिरको गरिमा जोगाउन शैली परिवर्तन गर्नुपर्ने माग

डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो! : Icon Khabar

भक्तपुर, साउन २० । भक्तपुरको प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा साउन महिनाको प्रत्येक सोमबार लाग्ने मेलामा भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ। धार्मिक आस्था र श्रद्धाका साथ हजारौँ भक्तजन मन्दिर पुग्ने गरेका छन्। प्रत्येक सोमबार अपराह्न विशेष आरतीसमेत आयोजना हुँदै आएको छ।

साउन महिनालाई भगवान् शिवको आराधनाका लागि विशेष मानिने भएकाले डोलेश्वरमा सोमबार भक्तजनको चाप अझ बढ्ने गरेको छ। भक्तजनहरू मन्दिरमा पुगेर पूजा–आराधना गर्ने, भजन–कीर्तन सुन्ने, आरतीमा सहभागी हुने तथा आध्यात्मिक आनन्द प्राप्त गर्ने उद्देश्यले आउने गरेका छन्।

मन्दिर व्यवस्थापन समितिका अनुसार साउन महिनामा करिब १ करोड रुपैयाँ चन्दा संकलन गर्ने लक्ष्य राखिएको छ। साउन महिनाको मध्यतिरसम्म करिब ३७ लाख रुपैयाँ चन्दा संकलन भइसकेको समितिले जनाएको छ।

तर धार्मिक तथा आध्यात्मिक वातावरणका लागि मन्दिर पुग्ने भक्तजनले आरती तथा भजन–कीर्तनका क्रममा हुने अत्यधिक औपचारिकताप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

विशेषगरी कार्यक्रम सुरु भएपछि लामो समयसम्म चल्ने ‘आसन ग्रहण’ कार्यक्रमले भक्तजनलाई असहज बनाउने गरेको गुनासो छ। कार्यक्रममा जनप्रतिनिधि, पूर्वमन्त्री, वडा अध्यक्ष, नगरपालिकाका प्रवक्तालगायत विभिन्न व्यक्तिहरूलाई आसन ग्रहण गराउने क्रममा उनीहरूका श्रीमती तथा छोराछोरीको समेत नाम उच्चारण गर्ने गरिएको भन्दै कतिपय भक्तजनले प्रश्न उठाएका छन्।

भक्तजनको गुनासो छ—भगवानको आराधना गर्न मन्दिर पुगेका बेला धार्मिक कार्यक्रमभन्दा अतिथि परिचय र औपचारिकताले बढी समय लिनु कति उचित हो?

डोलेश्वरमा आयोजना हुने भजन–कीर्तन र आरती धार्मिक अनुभूति, शान्ति र भक्तिभावका लागि केन्द्रित हुनुपर्ने उनीहरूको भनाइ छ। तर लामो आसन ग्रहण, अतिथि परिचय र औपचारिक सम्बोधनका कारण कार्यक्रम हेर्न तथा सुन्न बसेका भक्तजन नै झ्याउ मान्ने अवस्था आएको उनीहरूको गुनासो छ।

कतिपय भक्तजनले धार्मिक स्थलमा हुने कार्यक्रममा जनप्रतिनिधि वा विशिष्ट व्यक्तिलाई सम्मान गर्नु गलत नभए पनि त्यसको सीमा र शैली निर्धारण गर्नुपर्ने बताएका छन्। भगवानको अगाडि पनि जनप्रतिनिधि तथा उनीहरूका परिवारलाई विशेष प्राथमिकता दिएको जस्तो देखिने गरी लामो औपचारिकता प्रदर्शन गर्दा मन्दिरको धार्मिक गरिमामाथि नै प्रश्न उठ्न सक्ने उनीहरूको भनाइ छ।

एक भक्तजनले भने, “हामी यहाँ कुनै राजनीतिक वा औपचारिक कार्यक्रम हेर्न आएका होइनौँ। भजन सुन्न, आरती हेर्न, प्रार्थना गर्न र महादेवको दर्शन गर्न आएका हौँ। धार्मिक कार्यक्रमलाई छोटो, सरल र भक्तिमय बनाइदिए सबैलाई सहज हुन्छ।”

भक्तजनहरूले डोलेश्वरको धार्मिक महत्त्वलाई ध्यानमा राख्दै आगामी दिनमा आरती तथा भजन–कीर्तन कार्यक्रमको सञ्चालन शैलीमा सुधार गर्न माग गरेका छन्। उनीहरूले आसन ग्रहण र औपचारिक सम्मानलाई सीमित गर्दै भजन, कीर्तन, आरती र पूजालाई कार्यक्रमको मुख्य केन्द्रमा राख्नुपर्ने सुझाव दिएका छन्।

डोलेश्वर केवल एउटा धार्मिक स्थल मात्र नभई भक्तजनको आस्था र विश्वाससँग जोडिएको महत्वपूर्ण तीर्थस्थल भएकाले त्यहाँ आयोजना हुने प्रत्येक कार्यक्रमले पनि सोहीअनुसारको सरलता, मर्यादा र आध्यात्मिकता झल्काउनुपर्ने उनीहरूको धारणा छ।

साउन महिनामा ठूलो संख्यामा भक्तजन आउने डोलेश्वरमा चन्दा संकलनसँगै धार्मिक वातावरण र व्यवस्थापनप्रति पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ। भक्तजनको विश्वास र भावनालाई केन्द्रमा राखेर कार्यक्रमको स्वरूप परिवर्तन गर्न सके डोलेश्वरको धार्मिक गरिमा अझ उचो हुने अपेक्षा गर्न सकिन्छ।

Published Date: 04 August 2026