काठमाडौं, साउन १२ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सेमेस्टरको ‘संगठनात्मक व्यवहार’ विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै विभिन्न व्हाट्सएप समूह मार्फत चुहाएर परीक्षा प्रणालीको गोपनीयता भंग गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।
सीआईबीले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा रौतहटका २५ वर्षीय अतुल कुमार मिश्र र पर्साका ३१ वर्षीय अब्दुल सानी हाकिम पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनीहरूलाई सम्बन्धित स्थानबाट पक्राउ गरी सम्मानित अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ। यसअघि पनि सोही घटनामा संलग्न अन्य व्यक्तिहरू पक्राउ परिसकेका थिए।
प्रहरीले परीक्षा प्रणालीको विश्वसनीयता र गोपनीयतामाथि आघात पुर्याउने कुनै पनि गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याइने स्पष्ट गर्दै यस घटनाको अनुसन्धान अझै जारी रहेको जनाएको छ।
Published Date: 28 July 2026