भक्तपुर, असार ३१ । भक्तपुरको प्रमुख आकर्षण तथा नेपालको सांस्कृतिक पहिचान बोकेको ङातापोल्हँ केवल एक मन्दिर मात्र होइन, इतिहास, वास्तुकला, जनसहभागिता र सुशासनको अनुपम प्रतीक पनि हो। तत्कालीन भक्तपुरका राजा भूपतिन्द्र मल्लको शासनकालमा निर्माण सम्पन्न भएको यो मन्दिर नेपाल संवत् ८२२ मा प्रतिष्ठा गरिएको थियो।
केवल छ महिनाको अवधिमा निर्माण सम्पन्न गरिएको ङातापोल्हँ तत्कालीन समयमा जनसहभागिताबाट सम्पन्न भएको एक विशाल निर्माण परियोजनाको उत्कृष्ट उदाहरण मानिन्छ। यस मन्दिर निर्माणमा स्वयं राजा भूपतिन्द्र मल्लले पनि इँटा बोकेको ऐतिहासिक प्रसंग आजसम्म जनश्रुतिमा जीवित छ।
१०८ फिट (३३.२३ मिटर) अग्लो ङातापोल्हँ नेपालकै सबैभन्दा अग्लो नेपाली शैली (प्यागोडा शैली) को मन्दिर हो। पाँच तलासहित पाँचवटा पेटीमा निर्माण गरिएको यो भव्य सम्पदा काष्ठकला, इष्टकला तथा प्रस्तरकलाले सुसज्जित छ। करिब पाँच फिट तीन इन्च मोटाइको मजबुत गाह्रोले यसको संरचनात्मक बलियोपनलाई प्रमाणित गर्छ।
ङातापोल्हँको अर्को विशेषता यसको निर्माण प्रविधि हो। संरचनाका विभिन्न भाग जोड्न कुनै पनि ठाउँमा काँटी–किला प्रयोग गरिएको छैन। छाना प्रणालीलाई कलात्मक टुँडालहरूले अड्याइराखेका छन्, जसले नेपाली परम्परागत वास्तुकलाको उत्कृष्ट नमुना प्रस्तुत गर्छ।
यस मन्दिरमा कुल ५२९ वटा फय्ःगं जडान गरिएको छ। तीमध्ये क्रमशः ४८, ८०, १०४, १२८ र १६८ वटा विभिन्न तहका छानामा झुण्ड्याइएका छन्। एउटा फय्ःगं भने बाँकी राखिएको छ। लोकविश्वासअनुसार उक्त सो गं (घण्ट) बजाएमा ठूलो हावाहुरीसहित भारी वर्षा हुने विश्वास रहिआएको छ।
मन्दिर निर्माणमा १,१३,५३५ वटा इँटा, १,०२,०३५ वटा तेलिया इँटा तथा २७,०८४ वटा उपा प्रयोग गरिएको उल्लेख पाइन्छ। निर्माण सम्पन्न भएपछि विभिन्न स्थानबाट आएका करिब २० हजार व्यक्तिलाई भव्य तःभ्वय् (सामूहिक भोज) खुवाइएको इतिहासमा उल्लेख छ।
मन्दिर प्रतिष्ठापछि तीन जना पुरोहितलाई तत्कालीन राजाले स्वर्णमुकुट प्रदान गरेका थिए। ती स्वर्णमुकुट हालसम्म पनि कर्माचार्य पण्डित परिवारसँग सुरक्षित रहेको बताइन्छ।
ङातापोल्हँको गजुरमा करिब ४० धार्नी ३७ तोला सुनको जलप लगाइएको छ, जसले यसको भव्यतालाई थप आकर्षक बनाएको छ। साथै, मन्दिरभित्र एउटै ढुंगामा कुँदिएको कलात्मक सिद्धिलक्ष्मीको मूर्ति रहेको छ, जुन धार्मिक तथा कलात्मक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।
विशेष रूपमा, ङातापोल्हँ नेपालकै त्यस्तो दुर्लभ सम्पदा हो, जुन निर्माण नक्सासहित तयार गरिएको थियो। यसको निर्माणसम्बन्धी हिसाब–किताब पनि व्यवस्थित र स्पष्ट राखिएको इतिहास पाइन्छ। त्यसैले ङातापोल्हँ केवल धार्मिक सम्पदा मात्र नभई पारदर्शी व्यवस्थापन, उत्तरदायित्व र सुशासनको प्रेरणादायी उदाहरणका रूपमा पनि चिनिन्छ।
शताब्दीयौँ बितिसक्दा पनि ङातापोल्हँ भक्तपुरको गौरव, नेपाली वास्तुकलाको उत्कृष्ट नमुना तथा विश्व सम्पदाको अमूल्य धरोहरका रूपमा स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। ङातापोल्हँ मन्दिरको ३२४औँ वर्षबन्धन आज विविध कार्यक्रमका साथ मनाइँदै छ।
Published Date: 15 July 2026