लगातारको वर्षाले उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाका बन्द, लामो दूरीका सवारी रोकिए

लगातारको वर्षाले उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाका बन्द, लामो दूरीका सवारी रोकिए : Icon Khabar

काठमाडौं, असार ३० ।  लगातारको अविरल वर्षा र त्यसबाट उत्पन्न पहिरोको उच्च जोखिमका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै प्रमुख सडकमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधनहरूलाई नयाँ बसपार्कलगायत विभिन्न स्थानमा रोकेर राखिएको छ।

उपत्यकाबाट बाहिरिने प्रमुख मार्गहरू नागढुङ्गा, साँगा र फर्पिङ हुँदै सञ्चालन हुने सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको हो। हिजो रातिदेखि नै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको थियो भने वर्षा र पहिरोको जोखिम नघटेकाले बुधबार बिहानदेखि सञ्चालन हुने दिवाकालीन सवारी साधनलाई पनि प्रस्थान अनुमति दिइएको छैन।

उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका इन्सपेक्टर किरण घिमिरेका अनुसार नागढुङ्गा–मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी सञ्चालन पूर्ण रूपमा स्थगित गरिएको छ। चितवनको केराबारी र तुइनखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ। त्यसैलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नहुँदासम्म उक्त सडकखण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको जनाएको छ।

यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी खोलामा पानीको बहाव खतरनाक रूपमा बढेको छ भने मङ्गलटार क्षेत्रमा लेदोसहितको पहिरो खसेपछि सो मार्ग हुँदै यात्रा गर्न पनि प्रशासनले रोक लगाएको छ।

हेटौँडातर्फ जाने फर्पिङ–फाखेल–सिस्नेरी सडकखण्ड पनि पहिरोका कारण बन्द गरिएको छ। त्यस्तै, कान्ति लोकपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा पहिरो खसेपछि उक्त वैकल्पिक मार्गसमेत पूर्ण रूपमा अवरुद्ध बनेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मौसम र सडकको अवस्था निरन्तर अनुगमन भइरहेको जनाउँदै जोखिम कम भएपछि मात्रै सवारी सञ्चालनबारे थप निर्णय गरिने जनाएको छ।

प्रहरीले प्रतिकूल मौसमका कारण अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Published Date: 14 July 2026


ताजा
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास