काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलमा पनि खानेपानी अभाव

काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलमा पनि खानेपानी अभाव : Icon Khabar

काठमाडौँ, असार २८ । काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन्।

राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुङ्गेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन्।

मुहान क्षेत्रका बासिन्दाले नै खानेपानी नपाएको विषयमा स्थानीय तथा संघीय जनप्रतिनिधिले वर्षौंदेखि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि समस्या समाधान भएको छैन।

संसद्को खानेपानी तथा पूर्वाधारसँग सम्बन्धित समितिको गत साताको बैठकमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर क्षेत्रमा खानेपानीको समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा आपूर्ति हुन नदिने चेतावनी दिएका थिए। शनिबार उनले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रतिनिधिसँग बैठक गरी स्थानीय समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिए।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट २७.५ किलोमिटर सुरुङमार्फत सुन्दरीजल आइपुग्ने मेलम्चीको पानी यहीँ प्रशोधन गरी राजधानीमा वितरण गरिन्छ। यसका साथै वाग्मती नदीको पानी पनि सुन्दरीजलबाट प्रशोधन गरी उपत्यकाका विभिन्न क्षेत्रमा वितरण हुँदै आएको छ तर पानीको स्रोतस्थल आसपासका बासिन्दा भने अझै नियमित खानेपानी सेवाबाट वञ्चित छन्।

कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासकी सावित्री सापकोटाले १० लिटर खानेपानीका लागि गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारस्थित सार्वजनिक धारासम्म करिब आधा घण्टा पैदल जानुपर्ने र पानी भर्ने पालोको प्रतीक्षामा दुई घण्टासम्म समय खर्चिनुपर्ने बाध्यता सुनाइन्। “धारामा सधैँ लामो लाम हुन्छ, घण्टौँको प्रतीक्षा पछिमात्र पालो आउँछ,” उनको दुखेसो छ।

सोही वडाका केशवप्रसाद पुडासैनीले नगरपालिकाले विभिन्न खानेपानी आयोजना सम्पन्न गरेको दाबी गरे पनि दिगो व्यवस्थापन नहुँदा संविधानले प्रत्याभूत गरेको स्वच्छ खानेपानीको अधिकारबाट स्थानीयवासी वञ्चित हुनुपरेको गुनासो गरे।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले आफ्नै बजेटबाट आवश्यक पाइप बिछ्याएर केयुकेएललाई हस्तान्तरण गरे पनि अपेक्षित रूपमा खानेपानी वितरण हुन नसकेको स्वीकार गरे।

स्थानीयवासी प्रेम श्रेष्ठका अनुसार सुन्दरीजलस्थित पुरानो वाग्मती पानी प्रशोधन केन्द्र लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय क्षेत्रमा शुद्ध पानी वितरण प्रभावित भएको छ। उनले केन्द्रको शीघ्र मर्मत गरी स्थानीय बासिन्दालाई नियमित र स्वच्छ खानेपानी उपलब्ध गराउन माग गरे।

केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहले सुन्दरीजल क्षेत्रमा समस्या पुरानो वितरण प्रणालीका कारण भएको बताए। पञ्चायतकालमा निर्माण गरिएको पाइपलाइन अहिलेको जनघनत्व धान्न नसक्ने अवस्थामा पुगेकाले नयाँ वितरण प्रणाली निर्माण गर्ने विषयमा सांसद पाण्डेसँग सहमति भएको उनले जानकारी दिए।

यसैबीच, सुन्दरीजलको वाग्मतीतर्फको पुरानो पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बौद्ध क्षेत्रसम्म वितरण हुने पानी धमिलो हुने गरेको अत्तरखेलका स्थानीयवासी नोर्साङ शेर्पाले गुनासो गरे। उनका अनुसार यस्तो पानी प्रयोग गर्दा कपडा राम्रोसँग सफा नहुने र नुहाएपछि शरीर चिलाउने समस्या हुने गरेको छ। नागरिक समाजले एक दशकदेखि यो विषय उठाउँदै आए पनि सम्बन्धित निकायबाट प्रभावकारी सुनुवाइ नभएको उनले बताए।

Published Date: 12 July 2026
ताजा
काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलमा पनि खानेपानी अभाव
इरान–अमेरिका द्वन्द्व थप चर्कियो: १४० सैन्य लक्ष्यमा अमेरिकी आक्रमण, होर्मुज जलसन्धि बन्द
आज आइतबार र भोलि सोमबार धेरै भारी वर्षा हुने सम्भावना
आइतबार सुनको मूल्य सामान्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण