भक्तपुर, असार २१ । साइकलमार्फत स्वस्थ जीवनशैली, वातावरण संरक्षण, सम्पदा संरक्षण तथा समुदाय निर्माणलाई प्रवर्द्धन गर्दै आएको साइकल कनेक्ट भक्तपुर ले यस वर्ष ‘कोरा जात्रा भक्तपुर २०२६’ आयोजना गर्ने भएको छ। आगामी साउन २ गते हुने मुख्य कार्यक्रमले ‘सशक्तीकरण’ लाई यस वर्षको मूल विषयका रूपमा अघि सारेको आयोजकले जनाएको छ।
यस सम्बन्धमा आइतबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको औपचारिक घोषणा गर्नुका साथै सहभागीहरूले प्राप्त गर्ने आधिकारिक जर्सी पनि सार्वजनिक गरिएको छ।
आयोजकका अनुसार कोरा भक्तपुर केवल साइकल यात्रा मात्र नभई समुदाय, संस्कृति, सम्पदा र नागरिकलाई जोड्ने आधुनिक सामुदायिक अभियानका रूपमा विकास हुँदै आएको छ। यस वर्ष परम्परागत जात्राको सामुदायिक भावनालाई आधुनिक जीवनशैलीसँग जोड्दै ‘कोरा जात्रा’ अवधारणालाई थप सशक्त बनाइएको जनाएको छ।
पत्रकार सम्मेलनमा साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष सुमित बाला, वर्तमान अध्यक्ष रियाज कर्माचार्य, ‘साइकल सौन्दर्य’ का लेखक तारानाथ श्रेष्ठ तथा माइ कोरा च्यालेन्जका पायोनियर राज ज्ञवाली लगायतले कार्यक्रमको उद्देश्य, महत्व र समुदायमा यसको प्रभावबारे आफ्नो धारणा राखेका थिए।
सन् २०२१ मा ५० जना सहभागीबाट सुरु भएको कोरा भक्तपुर अहिले हजारौँ साइकलयात्रीको सहभागिता रहने नेपालको अग्रणी समुदायमा आधारित साइकल अभियानका रूपमा विस्तार भएको आयोजकको दाबी छ। भक्तपुरका सम्पदा, ग्रामीण बस्ती, प्राकृतिक पदमार्ग तथा ऐतिहासिक स्थललाई एउटै यात्रामा समेट्दै यस अभियानले भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकल गन्तव्य का रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
यस वर्षको कार्यक्रमको मुख्य सामाजिक उद्देश्य महिला सशक्तीकरण रहेको छ। ‘साइक्लिङ मैंचा’ अभियानमार्फत किशोरी तथा महिलालाई निःशुल्क साइकल तालिम, सडक सुरक्षा सम्बन्धी शिक्षा, आत्मविश्वास अभिवृद्धि, स्वतन्त्र आवागमन तथा नेतृत्व विकासका अवसर प्रदान गरिने आयोजकले जनाएको छ। विगत दुई वर्षमा करिब १३० जना महिलालाई निःशुल्क साइकल तालिम प्रदान गरिसकिएको र यस वर्ष उक्त अभियानलाई अझ व्यापक बनाउने योजना रहेको जानकारी दिइएको छ।
यसैगरी, १८ वर्षमुनिका बालबालिकाका लागि ‘किड्स कोरा भक्तपुर २०२६’ आगामी असार २७ गते आयोजना गरिनेछ। बालबालिकामा सुरक्षित साइकल संस्कृतिको विकास, सडक अनुशासन तथा स्वस्थ जीवनशैलीप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
मुख्य कार्यक्रम साउन २ गते भक्तपुरको नःपुखु परिसरबाट सुरु हुनेछ। सहभागीहरूको क्षमता र रुचिअनुसार २५, ५०, ७५, १०० र पहिलो पटक १५० किलोमिटर ‘सुपर कोरा’ गरी पाँचवटा दूरी निर्धारण गरिएको छ। १५० किलोमिटरको ‘सुपर कोरा’ ले भक्तपुरसँगै ललितपुर र काठमाडौंका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रलाई समेट्नेछ।
कार्यक्रम अवधिभर फोटो प्रदर्शनी, बाल खेल उत्सव, वृत्तचित्र प्रदर्शन, मनोरञ्जनात्मक गतिविधि तथा अन्य सामुदायिक कार्यक्रमहरू समेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार कोरा भक्तपुरले स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरण संरक्षण, सम्पदा जगेर्ना, स्थानीय पर्यटन विकास, महिला नेतृत्व, युवा सहभागिता, स्वयंसेवा तथा स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
यस वर्षको कार्यक्रमको मूल सन्देश ‘जात्रामा जस्तै सबैको सहभागिता, यात्रामा जस्तै सबैको साथ, र समुदायको सशक्तीकरणमा सबैको योगदान’ रहेको आयोजकले जनाएको छ।
Published Date: 05 July 2026