काठमाडौँ, असार १५ । प्रत्येक वर्ष असार १५ गते नेपाली समाजमा राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व विशेष उत्साहका साथ मनाइन्छ। मानो रोपेर मुरी उब्जाउने यस महत्त्वपूर्ण समयमा खेतबारीमा व्यस्त किसानहरू मात्र नभई विभिन्न पेसा तथा व्यवसायमा आबद्ध नेपालीहरूले पनि दही–चिउरा खाएर यो पर्व मनाउने परम्परा रहिआएको छ।
असारे गर्मी र खेतीपातीको चटारोले थकित शरीरलाई दही–चिउराले शीतलता प्रदान गर्नुका साथै ऊर्जा सञ्चय गराउने जनविश्वास छ। त्यसैले असार १५ केवल कृषि पर्व मात्र नभई नेपाली जनजीवनसँग गहिरो रूपमा जोडिएको सांस्कृतिक उत्सव पनि हो।
हाम्रो सनातन संस्कृति र परम्परामा दहीलाई पवित्र तथा शुभ मानिन्छ। घरबाट शुभकार्यका लागि निस्कँदा, परीक्षा दिन जाँदा, नयाँ व्यवसाय सुरु गर्दा वा लामो यात्रामा जाँदा दही–अक्षताको टीका लगाउने तथा सगुनका रूपमा दही खुवाएर बिदाइ गर्ने चलन आज पनि जीवित छ। यसलाई सफलता र शुभ संकेतको प्रतीकका रूपमा हेरिन्छ।
ऐतिहासिक तथा पौराणिक कथनअनुसार गुरु गोरखनाथले नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खुवाउँदै पराक्रमी बन्ने आशीर्वाद दिएको उल्लेख पाइन्छ। यसले दहीको सामाजिक तथा ऐतिहासिक महत्त्वलाई अझ प्रस्ट पार्छ।
दही धार्मिक र सांस्कृतिक दृष्टिले मात्र होइन, स्वास्थ्यका हिसाबले पनि अत्यन्त लाभदायक मानिन्छ। आयुर्वेदको प्रसिद्ध उक्ति “भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्” ले भोजनपछि नियमित रूपमा मोही वा दही सेवन गरेमा स्वास्थ्य राम्रो रहने विश्वास व्यक्त गर्दछ।
वैज्ञानिक दृष्टिले दहीमा पाइने प्रोबायोटिक्स अर्थात् लाभदायक ब्याक्टेरियाले पाचन प्रणाली सुदृढ बनाउँछ र आन्द्राको स्वास्थ्य सुधार गर्छ। विशेष गरी पेटको समस्या वा पखालाजस्ता अवस्थाहरूमा दही–चिउराको सेवन प्रभावकारी मानिन्छ।
यसका साथै दही क्याल्सियम, प्रोटिन, भिटामिन बी–६ र भिटामिन बी–१२ को राम्रो स्रोत भएकाले यसले हड्डी तथा दाँत मजबुत बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ।
यिनै कृषि, सांस्कृतिक, धार्मिक तथा स्वास्थ्यसम्बन्धी विशेषताका कारण असार १५ नेपाली समाजमा एक महत्त्वपूर्ण राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा स्थापित भएको छ।
Published Date: 29 June 2026