काठमाडौं, असार १४ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक रेस्लिङ प्रतियोगिता ‘पीडब्लुएक्सएम : रेसल क्यासल’ आयोजना हुने भएको छ। खेलकुद, मनोरञ्जन र संगीतलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस कार्यक्रमको मुख्य आकर्षण विश्वप्रसिद्ध जापानी व्यावसायिक रेस्लिङका महानायक तथा डब्लुडब्लुईई हल अफ फेमर तात्सुमी फुजिनामी रहनेछन्।
आयोजकका अनुसार कार्यक्रम २०८३ साल असार २० गते (शनिबार) दिउँसो २ बजेदेखि ललितपुरस्थित नखिपोट युथ क्लबको कभर्ड हल मा आयोजना हुनेछ। विश्व रेस्लिङ इतिहासका सम्मानित व्यक्तित्वमध्ये एक मानिने फुजिनामीको उपस्थितिले नेपालको व्यावसायिक रेस्लिङ क्षेत्रमा नयाँ इतिहास रच्ने विश्वास गरिएको छ।
प्रतियोगितामा जापानबाट लेओना फुजिनामी, हारु योशिमुरा, हिरोशी मिहारा, काजुहिरो तामुरा, यासुशी मियामोटो र ह्यो ओगावा ले पनि प्रतिस्पर्धा गर्नेछन्।
नेपालका तर्फबाट व्यावसायिक रेस्लिङका अग्रणी प्रशिक्षक हिमालयन टाइगर को मार्गदर्शनमा तयार भएको टोलीले प्रतिस्पर्धा गर्नेछ। टोलीको नेतृत्व चर्चित र्यापर तथा व्यावसायिक रेस्लर बुलेट फ्लो (थापाकाजी) ले गर्नेछन् भने अनुभवी रेस्लर जोन ब्रीज र लिजार्ड किङ समेत प्रतिस्पर्धामा उत्रिनेछन्।
पिग ई प्रोडक्सन को प्रस्तुतिमा तथा नखिपोट युथ क्लब को सह–आयोजनामा हुन लागेको कार्यक्रमको निर्देशन तकाशी ताकेई (टक बिष्ट) ले गरिरहेका छन्। आयोजकका अनुसार यो कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नरही नेपाललाई अन्तर्राष्ट्रिय व्यावसायिक रेस्लिङको गन्तव्यका रूपमा स्थापित गर्ने अभियान पनि हो।
कार्यक्रममार्फत नेपाल–जापानबीच सांस्कृतिक आदान–प्रदानलाई थप मजबुत बनाउने, नेपाली रेस्लरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराउने, नयाँ प्रतिभा उत्पादन गर्ने तथा नेपाली दर्शकलाई विश्वस्तरीय रेस्लिङको अनुभव गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
रेस्लिङ प्रतिस्पर्धासँगै कार्यक्रममा चर्चित र्याप कलाकार डीबी यो म्याजेस्टी, भी–लेन ३९ तथा लोकप्रिय गायक कुहाङ को विशेष सांगीतिक प्रस्तुति पनि रहनेछ।
Published Date: 28 June 2026