नेसनल प्याब्सन भक्तपुरद्वारा शिक्षक अभिमुखीकरण सम्पन्न

नेसनल प्याब्सन भक्तपुरद्वारा शिक्षक अभिमुखीकरण सम्पन्न : Icon Khabar

भक्तपुर, असार १४ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) भक्तपुरको आयोजना तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) को सहकार्यमा शनिबार प्राथमिक तहका शिक्षकहरूका लागि एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ।

जगातीस्थित होटल भ्यु भक्तपुरमा आयोजित “Continuous Assessment (Focused on Grade 1–5 Assessment)” विषयक तालिममा सदस्य विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यापन गराउने २७४ जना शिक्षकको सहभागिता रहेको थियो।

तालिममा कक्षा १–५ का विद्यार्थीहरूको परम्परागत परीक्षाबिना निरन्तर मूल्याङ्कन गर्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको थियो। निरन्तर विद्यार्थी मूल्याङ्कन (CAS), परियोजना कार्य, पोर्टफोलियो व्यवस्थापन, अवलोकन तथा सहपाठी मूल्याङ्कनजस्ता विधिलाई व्यवहारमा लागू गर्ने विषयमा सहभागीलाई प्रयोगात्मक अभ्यास गराइएको थियो।

तालिममा काठमाडौं विश्वविद्यालयका प्रशिक्षकहरू ईन्द्रमणि दाहाल, समीक्षा हाडा, डा. रुपा मुनकर्मी र सरिता खड्काले सहजीकरण गरेका थिए।

कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्राथमिक तहमा विद्यार्थीको वास्तविक सिकाइ मापन गर्न निरन्तर मूल्याङ्कन प्रणाली प्रभावकारी हुने बताउँदै यस्ता तालिमले शिक्षकको पेशागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका सहायक डिन प्रा. डा. शेषकान्त पगेनीको समेत उपस्थिति रहेको थियो। तालिमको समापनमा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

Published Date: 28 June 2026