भक्तपुर, असार ७ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भक्तपुर दरबार स्क्वायरमा आयोजित सामूहिक योग कार्यक्रममा एक गम्भीर त्रुटि सार्वजनिक भएपछि विवाद चुलिएको छ। कार्यक्रममा सहभागीलाई वितरण गरिएको टिसर्टमा भक्तपुरको विश्वविख्यात पाँचतल्ले मन्दिरको स्वरूप बिगारेर चार तल्ला मात्र देखाइएको पाइएको हो।
नगर प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सयौं सहभागीहरूले एकै प्रकारका टिसर्ट लगाएका थिए। तर कार्यक्रमपछि सामाजिक सञ्जालमा टिसर्टको डिजाइनबारे आलोचना सुरु भयो। स्थानीय तथा सांस्कृतिक क्षेत्रका जानकारहरूले यस्तो त्रुटिलाई “सम्पदाप्रति बेवास्ता” र “लापरवाही” को उदाहरणका रूपमा टिप्पणी गरेका छन्।
टिसर्टमा प्रयोग गरिएको चित्रमा स्पष्ट रूपमा मन्दिरको वास्तविक संरचना मिलाइएको छैन, जसले गर्दा यसको डिजाइन तयार गर्दा आवश्यक अध्ययन र सत्यापन नगरिएको देखिएको आरोप लगाइएको छ। केहीले एआई (कृत्रिम बौद्धिकता) मा अत्यधिक निर्भरता र आधारभूत ज्ञानको अभावका कारण यस्तो त्रुटि भएको बताएका छन्।
घटनापछि “यसको जिम्मेवार को ?” भन्ने प्रश्न उठिरहेको छ। आयोजक निकाय, डिजाइन तयार गर्ने पक्ष वा स्वीकृति दिने निकायमध्ये कसले जिम्मेवारी लिने भन्ने विषयमा स्पष्टता आएको छैन।
भक्तपुर जस्तो सम्पदासम्पन्न शहरमा यस्ता त्रुटि दोहोरिनु नहुने भन्दै सरोकारवालाहरूले भविष्यमा यस्ता कार्यक्रम अघि बढाउँदा सांस्कृतिक संवेदनशीलता र तथ्यपरकता सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
Published Date: 21 June 2026