भक्तपुर, जेठ ३१ । भक्तपुरको सूर्यविनायक–८, इटाबुस्थित किकम्पा मन्टेसरी प्रि–स्कुलमा शनिबार ‘पोषण जाँच कार्यक्रम–२०८३’ सम्पन्न भएको छ।
प्ले ग्रुपदेखि फाउन्डेसन कक्षासम्मका बालबालिकालाई लक्षित गरी आयोजित कार्यक्रममा नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, हरिसिद्धिका सिनियर डाइटिसियन डा. कविता महर्जन प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।
कार्यक्रममा बोल्दै महर्जनले बालबालिकाको राम्रो भविष्यका लागि पाँच वर्षमुनिको उमेरमा उचित पोषण अत्यन्तै महत्वपूर्ण हुने बताइन्। घर र विद्यालय दुवैबाट बालबालिकाको पोषणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रमअन्तर्गत विद्यालयले बालबालिकाको तौल र उचाइ मापन गरी पोषण अवस्थाको स्क्रिनिङ गरेको थियो। साथै अभिभावकलाई व्यक्तिगत परामर्श प्रदान गर्दै घरमा सन्तुलित आहार कसरी खुवाउने भन्ने विषयमा जानकारी दिइएको थियो।
विद्यालयका प्रिन्सिपल राजेश लाखाले कार्यक्रमको मुख्य उद्देश्य बालबालिकालाई सन्तुलित आहार (ब्यालेन्स डाइट) को महत्वबारे जानकारी गराउनु र उनीहरूको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्नु रहेको बताए। “Anything is Possible When Learning is Fun” भन्ने नारासहित सञ्चालन भइरहेको विद्यालयले खेल्दै सिक्ने शिक्षण पद्धतिलाई प्राथमिकता दिएको जानकारी उनले दिए।
लाखाले स्वस्थ बालबालिकाले मात्र प्रभावकारी रूपमा अध्ययन गर्न सक्ने उल्लेख गर्दै अभिभावकको सहयोगबिना बालबालिकाको समग्र विकास सम्भव नहुने बताए। उनले प्रमुख अतिथि डा. कविता महर्जन तथा कार्यक्रममा सहभागी सम्पूर्ण अभिभावकप्रति आभार व्यक्त गर्दै यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा विद्यालयका शिक्षिका सरिता तमखु र बिन्द्रा पन्चले पनि आफ्ना धारणा राखेका थिए।
Published Date: 14 June 2026