भक्तपुर, जेठ ७ । ख्वप माध्यमिक विद्यालय तथा शारदा व्यायामशाला माध्यमिक विद्यालय ले शैक्षिक वर्ष २०८३/८४ का लागि कक्षा ११ को प्रवेश परीक्षा आगामी जेठ ९ गते शनिबार सञ्चालन गर्ने भएको छ। विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, कानून तथा शिक्षाशास्त्र संकायअन्तर्गत नयाँ शैक्षिक सत्रका लागि भर्ना कार्यक्रम सार्वजनिक गरेको हो।
विद्यालयले जारी गरेको सूचनाअनुसार कक्षा ११ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन फाराम भर्ने तथा बुझाउने अन्तिम मिति २०८३ जेठ ८ गते शुक्रबार साँझ ५ बजेसम्म तोकिएको छ।
विद्यालयका अनुसार प्रवेश परीक्षा जेठ ९ गते शनिबार दुई सिफ्टमा सञ्चालन हुनेछ। पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १२ः३० बजेदेखि २ः३० बजेसम्म सञ्चालन गरिने जनाएको छ। परीक्षामार्फत योग्य विद्यार्थी छनोट गरिने विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयले यस वर्ष पनि विभिन्न संकायअन्तर्गत आकर्षक तथा रोजगारमुखी विषयहरू समावेश गरेको जनाएको छ। विज्ञान संकायमा Physics, Biology, Computer Science र Chemistry विषय अध्ययन गर्न सकिनेछ भने व्यवस्थापन संकायमा Accounting, Business Studies, Finance, Economics, Hotel Management, Marketing, Tourism तथा Mountaineering Studies लगायत विषयहरू उपलब्ध रहेका छन्।
त्यसैगरी मानविकी संकायअन्तर्गत Painting, Mass Communication, Political Science, Culture तथा Optional English विषय अध्ययन गर्न सकिने विद्यालयले जनाएको छ। कानून संकायमा Jurisprudence and Legal Theories, Procedural Law तथा Constitutional Law विषय समावेश गरिएको छ भने शिक्षाशास्त्र संकायअन्तर्गत Child Development and Learning, Population Studies, Optional English तथा Optional Nepali विषय अध्यापन गराइनेछ।
विद्यालयले एसईई तथा प्रवेश परीक्षाको नतिजाका आधारमा उत्कृष्ट र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको विशेष व्यवस्था गरिएको जनाएको छ। साथै अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन गराइने र विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिइने विद्यालयको भनाइ छ।
थप जानकारीका लागि विद्यालयको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सम्पर्क गर्न सकिने विद्यालयका प्राचार्य लक्ष्मी प्रसाद कर्माचार्यले आइकन खबरलाई बताए।
Published Date: 21 May 2026