काठमाडौँ, वैशाख ३१ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बुधबार राति रायपुरमा सम्पन्न रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बेन्गलुरु (आरसिबी) ले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। स्टार ब्याटर विराट कोहलीको अविजित शतकीय इनिङ्स आरसिबीको जितको मुख्य आधार बन्यो।
कोलकाताले दिएको १९३ रनको चुनौतीपूर्ण लक्ष्य आरसिबीले १९.१ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो। उत्कृष्ट लयमा देखिएका विराट कोहलीले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै ६० बलमा अविजित १०५ रन प्रहार गरे। उनले कोलकाताका बलरहरूलाई दबाबमा राख्दै टोलीलाई सहज जित दिलाए। उनको शानदार प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। टोलीका लागि अंगकृष रघुवंशीले ४६ बलमा ७१ रनको उत्कृष्ट योगदान दिए भने रिंकु सिंहले २९ बलमा अविजित ४९ रन जोडे। फिन एलेनले १८ तथा क्यामरन ग्रीनले ३२ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
यस जितसँगै आरसिबीले १२ खेलबाट १६ अंक जोड्दै शीर्षस्थान कब्जा गरेको छ। समान अंक भए पनि नेट रनरेटमा पछि परेको गुजरात टाइटन्स दोस्रो स्थानमा झरेको छ। यता, हारपछि कोलकाता नाइट राइडर्स ११ खेलबाट ९ अंकसहित तालिकाको आठौँ स्थानमै सीमित बनेको छ।