काठमाडौं, वैशाख ३० । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।
आज बुधबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाण्डेलाई पक्राउ गरेको हो। उनलाई सिन्धुलीको कमलामाई नगरपालिका-६ बसपार्कस्थित मदन भण्डारी राजमार्गबाट सवारी जाँचका क्रममा फेला पारी पक्राउ गरिएको हो।
स्मार्टसेल टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको विषयमा सीआईबीले केही समयदेखि अनुसन्धान गरिरहेको छ। पाण्डे लिलामी प्रक्रियामा संलग्न देखिएका कारण पक्राउ परेका बताइएको छ।
स्मार्टसेलले नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति लिएको थियो। तर कम्पनीले नियमानुसार अनुमतिपत्र नवीकरण गरेको थिएन। नवीकरण नगरेपछि अनुमतिपत्र स्वत: रद्द हुने कानुनी व्यवस्था छ।
अनुमति रद्द नभएपछि कम्पनीको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना आदि नेपाल दूरसञ्चार सञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइसकेको सम्पत्ति बेइमानीपूर्वक गैरकानुनी रूपमा लिलामी गरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप कम्पनीका सञ्चालकहरुमाथि छ।
स्मार्टसेलका अध्यक्ष सर्वेश जोशी तथा सञ्चालकहरु पलिना श्रेष्ठ र नरेन्द्र उलाक यसअघि नै पक्राउ परिसकेका छन्।
Published Date: 13 May 2026