काठमाडौं, वैशाख ३० । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार आजको बैठक सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि केन्द्रित रहनेछ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गत सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
छलफलका क्रममा सांसदहरूले नीति तथा कार्यक्रममाथि दर्ता गरिएका संशोधन प्रस्तावहरू प्रस्तुत गर्नेछन् भने त्यसपछि दफावार छलफल अघि बढाइनेछ। बैठकमा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यक्रम पनि तय गरिएको संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको जवाफपछि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रिया अगाडि बढाइनेछ।
Published Date: 13 May 2026