राजस्थानमाथि हैदराबादको रोमाञ्चक जित

राजस्थानमाथि हैदराबादको रोमाञ्चक जित : Icon Khabar

काठमाडौँ, वैशाख १३ ।  इशान किशन र अभिषेक शर्माको उत्कृष्ट अर्धशतकको मद्दतमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै २ सय २९ रनको विशाल लक्ष्य सफलतापूर्वक पछ्याएको छ।

जयपुरमा शुक्रबार राति सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को ३६औँ खेलमा हैदराबादले ९ बल बाँकी रहँदै लक्ष्य पूरा गरेको हो।

पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो। टोलीका युवा ब्याट्सम्यान वैभव सूर्यवंशीले विस्फोटक शतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले केवल ३७ बलमा १ सय ३ रन बनाएका थिए।

सूर्यवंशीले ३६ बलमै शतक पूरा गरेका थिए र आफ्नो इनिङ्सका क्रममा प्रत्येक तेस्रो बलमा छक्का प्रहार गर्ने आक्रामक शैली देखाएका थिए।

राजस्थानका लागि ध्रुव जुरेलले ५१ रन जोडे । यी दुईबीच दोस्रो विकेटका लागि ६२ बलमा १ सय १२ रनको साझेदारी भएको थियो। हैदराबादका इशान मलिंगाले २ विकेट लिए ।

२ सय २९ रनको लक्ष्य पछ्याएको हैदराबादले सुरुवातमै ट्राभिस हेडलाई गुमायो। उनलाई पहिलो ओभरमै जोफ्रा आर्चरले आउट गरेका थिए। त्यसपछि अभिषेक शर्मा र इशान किशनले आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए।

अभिषेक र किशनले दोस्रो विकेटका लागि मात्र ५५ बलमा १ सय ३२ रनको शानदार साझेदारी गरे।अभिषेकले ५७ रन बनाउँदा किशनले ७४ रन जोडे।

पछि डोनोभान फेरेरा आउट भएपछि पनि हैदराबादले रनगति कायम राख्दै १८.३ ओभरमा ५ विकेट गुमाएर २ सय २९ रन बनाउँदै जित हात पारेको हो। राजस्थानका आर्चरले पनि २ विकेट लिए।

यस जितसँगै हैदराबादले कप्तान प्याट कमिन्सको पुनरागमनलाई जितसहित स्वागत गरेको छ, जबकि वैभव सूर्यवंशीको शानदार शतक भने टोलीका लागि पर्याप्त बन्न सकेन।

Published Date: 26 April 2026