भक्तपुर, वैशाख ४ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज भक्तपुर नगरपालिकाको भ्रमण गरेका छन्। नगरपालिकाको सभाकक्षमा नगरप्रमुख सुनिल प्रजापतिले उनलाई स्वागत गरेका थिए।
भ्रमणका क्रममा बानियाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा गरेको कामको प्रशंसा गर्दै स्थानीय तहबाट सञ्चालन भएका अस्पताललाई प्रादेशिक स्तरको मान्यता दिन कानुन संशोधन गरिने बताएका छन्। उनले भक्तपुर नगरपालिका प्रदेशका ११९ स्थानीय तहमध्ये उत्तरदायी रूपमा काम गर्ने अग्रणी स्थानीय तह रहेको पनि उल्लेख गरे।
नगरप्रमुख प्रजापतिले ख्वप अस्पतालमा दैनिक १२०० भन्दा बढी बिरामीले सेवा लिइरहेको तर एमआरआई मेसिनको अभाव रहेको जानकारी गराउँदै विकास आयोजनाका लागि प्रदेशबाट थप बजेट आवश्यक रहेको बताएका छन्।
कार्यक्रमपछि बानियाँले ख्वप अस्पताल, ख्वप कलेजहरू र निर्माणाधीन अरनिको सभाभवनको स्थलगत अवलोकन गरेका थिए।
Published Date: 17 April 2026