भक्तपुर, वैशाख ४ । जिल्ला प्रहरी परिसर भक्तपुरले २०८२ साल चैत्र महिनामा जिल्लाभर १४६ वटा अपराध मुद्दा दर्ता भएको जनाएको छ। परिसरले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार ती मुद्दामध्ये ६२ वटा फर्छ्योट भएका छन् भने ९९ जना अभियुक्त पक्राउ परेका छन्।
प्रहरीका अनुसार चैत्र महिनामा जबरजस्ती करणी, लागूऔषध, डाँका, ज्यान मार्ने उद्योग लगायत १७ वटा जघन्य तथा गम्भीर अपराधका मुद्दा दर्ता भएका छन्। आर्थिक अपराधतर्फ ७१ वटा बैंकिङ कसुर र ६ वटा ठगीका मुद्दा दर्ता भएका छन्।
लागूऔषध नियन्त्रणतर्फ १० वटा मुद्दा दर्ता भई १३ जना पक्राउ परेका छन्। प्रहरीले ५ केजी ५२५ ग्राम पोल्याण्ड, १३ केजी ६८० ग्राम गाँजा, ६ ग्राम ७१ मिलिग्राम खैरो हेरोइन, साथै ट्रामाडोल, नाइट्राजेपाम, नुफिन, डाइजापाम लगायतका औषधिहरू बरामद गरेको जनाएको छ।
सवारी दुर्घटनातर्फ चैत्र महिनामा २०३ दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन्। ट्राफिक कारबाहीबाट प्रहरीले १३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
यस्तै, राजस्व चुहावट नियन्त्रणअन्तर्गत प्रहरीले १२ लाख १४ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ भने प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा ८ वटा टिप्पर नियन्त्रणमा लिई १ लाख ११ हजार रुपैयाँ जरिवाना गरिएको छ।
प्रहरीले अपराध न्यूनीकरणका लागि मोबाइल गस्ती, चेकपोइन्ट, पैदल गस्ती, विद्यालय सचेतनामूलक कार्यक्रम तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाएको जनाएको छ। चैत्र महिनाभर ११५ वटा सामुदायिक कार्यक्रम सञ्चालन गरी ६ हजारभन्दा बढी नागरिकलाई सहभागी गराइएको प्रहरीको भनाइ छ।
Published Date: 17 April 2026