वी किड्स स्कुलमा चौथो ‘स्कुल ओपन हाउस’ कार्यक्रम सम्पन्न

वी किड्स स्कुलमा चौथो ‘स्कुल ओपन हाउस’ कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २१ ।  वी किड्स स्कुलले शनिबार चौथो “स्कुल ओपन हाउस” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। “एक्सप्लोर, लर्न एन्ड ग्रो” अवधारणालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रममार्फत बालबालिकालाई कक्षाकोठाभन्दा बाहिर पनि व्यवहारिक र सहभागितामूलक सिकाइमा जोड दिइएको विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार कार्यक्रममा ४०० भन्दा बढी अभिभावक तथा आगन्तुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयले आफ्ना शैक्षिक अभ्यास, बालबालिकाको सर्वाङ्गीण विकासका लागि सिर्जना गरिएको वातावरण तथा उपलब्ध सुविधाबारे जानकारी गराएको थियो।

विद्यालयकी प्रिन्सिपल मञ्जु दुवालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विद्यालयको शैक्षिक तथा भौतिक संरचना, विभिन्न कार्यक्रमहरू, अभिभावकबीच आपसी अन्तरक्रिया तथा सम्भावित नयाँ विद्यार्थी र अभिभावकलाई विद्यालयसँग परिचित गराउने लक्ष्य रहेको बताइन्। उनले उच्च गुणस्तरको शिक्षालाई प्रत्यक्ष अनुभव गराउने र आधुनिक सिकाइ अवधारणाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारिन्।

कार्यक्रममा विद्यार्थीहरूले पाठ्यक्रमसँग सम्बन्धित शैक्षिक सामग्री, स्थानीय औजार तथा बाजागाजाको आकर्षक प्रदर्शनी गरेका थिए। जीवनोपयोगी शिक्षाअन्तर्गत पैसाको महत्व बुझाउन विद्यार्थीहरूले सानो ‘बजार’ सञ्चालन गरी अभिभावकसँग खरिद–बिक्रीसमेत गरेका थिए।

यसैगरी, सांस्कृतिक प्रस्तुतिअन्तर्गत विद्यार्थीहरूले गीत, नृत्य र नाटकमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रमको उद्घोषण, स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापनसमेत विद्यार्थीहरूले नै गरेका थिए।

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले पाठ्यपुस्तकभन्दा बाहिरका विषयमा समेत व्यवहारिक शिक्षा प्रदान गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए। साथै, विद्यार्थीलाई आत्मनिर्भर बनाउन विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइएको देखेर उनीहरूले खुसी व्यक्त गरेका थिए।

बालबालिकाका लागि क्ले वर्क, फेस पेन्टिङ, फोटो स्टेशन, रमाइला खेल तथा फुड स्टलको समेत व्यवस्था गरिएको कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति निकै प्रभावशाली रहेको प्रतिक्रिया दिएका थिए।

Published Date: 04 April 2026