काठमाडौंमै आठ हजारभन्दा बढी मत बदर : मतदाता शिक्षामाथि प्रश्न

काठमाडौंमै आठ हजारभन्दा बढी मत बदर : मतदाता शिक्षामाथि प्रश्न : Icon Khabar

काठमाडौं, फागुन २५ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशकै उच्च साक्षरता दर रहेको मानिने काठमाडौं जिल्लामै आठ हजारभन्दा बढी मत बदर भएको तथ्यांक सार्वजनिक भएपछि मतदाता शिक्षा र मतदान प्रक्रियाप्रति पुनः प्रश्न उठ्न थालेको छ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा गरी कुल ८ हजार १९७ मत बदर भएका छन्। साक्षरता दर उच्च भएको तथा सूचना–प्रविधिमा सहज पहुँच भएको जिल्लामा समेत यति धेरै मत बदर हुनु चिन्ताको विषय भएको सरोकारवालाहरूले बताएका छन्।

जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार विभिन्न निर्वाचन क्षेत्रमा बदर मतको संख्या फरक–फरक रहेको छ। प्राप्त विवरणअनुसार काठमाडौं–१० मा सबैभन्दा धेरै १ हजार २२६ मत बदर भएको छ। त्यसपछि काठमाडौं–२ मा १ हजार ९५ मत, काठमाडौं–३ मा ९४० मत, काठमाडौं–९ मा ९३३ मत र काठमाडौं–५ मा ९०२ मत बदर भएका छन्।

त्यस्तै काठमाडौं–४ मा ८६२ मत, काठमाडौं–६ मा ८११ मत, काठमाडौं–७ मा ८०५ मत, काठमाडौं–८ मा ६२३ मत र काठमाडौं–१ मा ४३४ मत बदर भएको कार्यालयले जनाएको छ।

निर्वाचन विज्ञहरूका अनुसार मतपत्रमा गलत तरिकाले छाप लगाउने, एकभन्दा बढी ठाउँमा छाप लगाउने, खाली मतपत्र खसाल्ने वा मतपत्रमा अन्य चिन्ह बनाउने जस्ता कारणले मत बदर हुने गरेको छ। कतिपय अवस्थामा मतदान केन्द्रमा मतदाताले हतारमा मतदान गर्दा पनि यस्ता त्रुटि हुने गरेको बताइन्छ।

यस घटनाले निर्वाचनअघि सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम पर्याप्त प्रभावकारी हुन नसकेको संकेत गरेको सरोकारवालाहरूको भनाइ छ। निर्वाचन आयोगले विभिन्न माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि सबै मतदातासम्म स्पष्ट जानकारी नपुगेको देखिएको छ।

विशेषगरी पहिलोपटक मतदान गर्ने युवा मतदाता, ज्येष्ठ नागरिक तथा मतदान प्रक्रियाबारे स्पष्ट जानकारी नभएका मतदाताबाट बदर मत बढी हुने गरेको अनुभव पनि छ।

यसैबीच आगामी निर्वाचनहरूमा बदर मतको संख्या घटाउन मतदान प्रक्रियाबारे थप प्रभावकारी मतदाता शिक्षा, नमुना मतदान अभ्यास तथा जनचेतनामूलक कार्यक्रमहरूलाई अझ सुदृढ बनाउनु आवश्यक रहेको विश्लेषकहरूको सुझाव छ।

Published Date: 10 March 2026