मतदान गर्दा मत बदर हुन् नदिन विशेष सावधानी अपनाउन आग्रह

मतदान गर्दा मत बदर हुन् नदिन विशेष सावधानी अपनाउन आग्रह : Icon Khabar

काठमाडौं, फागुन १२ । निर्वाचन आयोगले विभिन्न ११ अवस्थामा मत बदर हुने जानकारी गराउँदै मतदान गर्दा विशेष सावधानी अपनाउन मतदातालाई आग्रह गरेको छ।

मतदाता, नागरिक तथा सरोकारवालाका जिज्ञासा र प्रश्नहरूको समाधानका लागि आयोगले कल सेन्टर सञ्चालन गर्दै आएको छ। निर्वाचनसम्बन्धी कुनै अन्योल वा प्रश्न भएमा नि:शुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर जानकारी लिन सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ।

सोही कल सेन्टरमा मतदाताहरूले “कस्ता अवस्थामा मत बदर हुन्छ?” भन्ने प्रश्न गरेपछि आयोगले स्पष्ट रूपमा ११ वटा अवस्था सार्वजनिक गरेको हो।

आयोगका अनुसार निम्न अवस्थाहरूमा मत बदर हुनेछः

१. सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र प्रयोग गरी मतदान गरेमा,
२. निर्वाचन आयोगले उपलब्ध गराएको मसी र स्वस्तिक छाप बाहेक अन्य चिह्न, छाप वा औँठाछाप प्रयोग गरी मत संकेत गरेमा,
३. मतपत्रमा लगाइएको संकेत चिह्न नबुझिने गरी लतपतिएको वा मतपत्र च्यातिएको अवस्थामा,
४. उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठाभित्र मतसंकेत नगरी अन्यत्र संकेत गरेमा,
५. निर्वाचित गर्नुपर्ने सिट संख्याभन्दा बढी उम्मेदवारलाई मतसंकेत गरेमा,
६. एकभन्दा बढी निर्वाचन चिह्नमा मतसंकेत गरेमा,
७. मतसंकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको मतपत्र,
८. कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मतसंकेत नगरेको अवस्थामा,
९. आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्र प्रयोग गरिएको पाइएमा,
१०. मतपेटिकाभन्दा बाहिर राखिएको मतपत्रको मत,
११. जाली मतपत्र वा आयोगले बदर हुने भनी तोकेको मतपत्र भेटिएमा।

निर्वाचन आयोगले मतपत्र प्राप्त गरेपछि आफूले रोजेको उम्मेदवारको निर्वाचन चिह्न भएको कोठाभित्र पर्ने गरी स्वस्तिक छाप स्पष्ट रूपमा लगाएर मात्र मतदान गर्न आग्रह गरेको छ।

मतदातालाई सचेत र जिम्मेवार भएर मतदान गर्न आयोगले पुनः अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 February 2026