घिउ र चाकु खानुको फाइदा के हो?

घिउ र चाकु खानुको फाइदा के हो? : Icon Khabar

काठमाडौँ, माघ १ । मौसमअनुकूल खानपानले शरीरलाई चुस्त, तन्दुरुस्त र स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ। यही कारणले हाम्रा पूर्खाहरूले ऋतु अनुसार विभिन्न पर्व तथा संस्कृतिको परम्परा विकास गरेका छन्। मध्य जाडोको समयमा मनाइने माघे संक्रान्ति पनि त्यही परम्पराको एक महत्वपूर्ण उदाहरण हो।

माघे संक्रान्तिमा शरीरलाई न्यानो राख्ने र आवश्यक ऊर्जा प्रदान गर्ने खानेकुरा सेवन गर्ने चलन छ। यस अवसरमा विशेष रूपमा घिउ, चाकु, तिल र सख्खर खाने प्रचलन रहिआएको छ। साथै, कब्जियत जस्ता समस्याबाट बच्न तरुल, पिडालु लगायतका कन्दमूल खाने गरिन्छ।

घिउ, चाकु र सख्खर

माघको पहिलो दिन खाइने घिउ, चाकु र सख्खरले शरीरलाई आवश्यक शक्ति प्रदान गर्नुका साथै भित्रबाट न्यानो बनाइराख्न मद्दत गर्छ। यी खानेकुराले जाडोका कारण लाग्ने विभिन्न रोगसँग लड्न शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछन्।

चाकु र सख्खरले शरीरलाई आवश्यक क्यालोरी, कार्बोहाइड्रेट, आइरन तथा खनिज पदार्थको आपूर्ति गर्छन्। घिउमा पाइने अनस्याचुरेटेड फ्याटी एसिडले शरीरमा बोसो जम्न नदिई आवश्यक चिल्लो प्रदान गर्छ, जसले शरीरलाई बलियो बनाउँछ। सन्तुलित रूपमा घिउ सेवन गर्दा शरीरलाई ताप र ऊर्जा प्राप्त हुन्छ, जुन जाडो मौसममा अत्यावश्यक मानिन्छ।

चाकुबाट ग्लुकोज, क्यालोरी र आइरन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ। तर मधुमेह तथा मिर्गौलासम्बन्धी समस्या भएका व्यक्तिले यसको सेवनमा विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।

उखु खारेर तयार पारिने चाकु माघे संक्रान्तिमा भगवानलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने धार्मिक तथा सांस्कृतिक परम्परासमेत रहेको छ।

तिल

तिलमा पाइने अनस्याचुरेटेड फ्याटी एसिडले पाचन प्रक्रिया सुधार्न मद्दत गर्छ। साथै, यसमा प्रशस्त मात्रामा भिटामिन ‘ई’ र खनिज पदार्थ हुने भएकाले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पुग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 January 2026
Website | + posts