भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध

महासचिव पदमा नविन प्रजापतिलाई पराजित गर्दै रुकेश रंजित निर्वाचित

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध : Icon Khabar

भक्तपुर, पुस २७ । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपाने चयन भएका छन् । संघको गत शुक्रबार र शनिबार भएको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्विरोध चयन भएका हुन् । साधारणसभा तथा अधिवेशनले न्यौपानेसहित २४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति निर्वाचित भएका छन् । साधारण सदस्यतर्फको उपाध्यक्षमा दिनेश गोसाई, वस्तुगत सदस्यतर्फको उपाध्यक्षमा विश्वराम दुवाल र एशोसिएटतर्फको उपाध्यक्ष गणेशहरि प्रजापति निर्वाचित भए । यसैगरी, महासचिव पदमा रुकेश रंजित निर्वाचित भएका छन्। उनले नविन प्रजापतिलाई पराजित गरेका हुन्। सचिवमा गौतम सुजखू र कोषाध्यक्षमा रंजित मारिखू निर्वाचित भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यहरुमा अनिल शिवाकोटी, अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, गणेशभक्त गोसाई, नारायणप्रसाद भुसाल, महेशकुमार शर्मा, राजेश त्वानाबासू, राधाकृष्ण सापकोटा, सन्तोषकुमार मिश्र, सुरेन्द्र प्रजापति र श्यामप्रसाद मानन्धर निर्वाचित भए । महिलातर्फ कार्यसमिति सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की तथा वस्तुगततर्फ कार्यसमिति सदस्यमा कृतन अवाल निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमै एशोसिएटतर्फ बिजोन त्वानाबासू र शिशिर किसी निर्वाचित भएका छन् ।

महासचिव र एशोसिएटतर्फका कार्यसमिति सदस्यहरु बाहेक अन्य पदाधिकारी एवं कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं प्रमुख निर्वाचन अधिकृत गजेन्द्रशंकर तिमिलाले जानकारी दिए । संघको नवनिर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई शनिबार एक कार्यक्रमका बीच प्रमाण पत्र वितरण गरिएको छ । यसैगरी, नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत तिमिलाले सपथ गराए ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफूलाई निर्विरोध निर्वाचित गराएकोमा धन्यवाद दिँदै सबैको सल्लाह, सुझाव लिएर अगाडि बढ्ने बताउँदै सामूहिक कार्य र निर्णयबाट मात्र सफलता प्राप्त हुने भएकाले आफ्नो कार्यकाल सफल बनाउन सबैबाट साथ र सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।

निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने पूर्वअध्यक्ष, पदाधिकारी एवं कार्यसमितिका सदस्यहरु लगायत सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै नयाँ कार्यसमितिको पूर्ण सफल कार्यकालको लागि शुभकामना दिइन् ।

संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम गत शुक्रबार भएको हो । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकताका लागि आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन आवश्यक रहेको र आफूले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताए ।

महासंघले निजी क्षेत्रको साझा छाता संगठनको रूपमा नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको हक–हित संरक्षणका लागि सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको उनले जनाए । अध्यक्ष ढकालले निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउन नहुने विषयको पैरवीदेखि अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन र लगानीमैत्री वातावरण निर्माणका लागि दजर्नौं कानुन संशोधनमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

Published Date: 11 January 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय