काठमाडौँ, असोज २२ । शहरी क्षेत्रमा अहिले सबै प्रकारका कारोबारहरू नगदरहित बन्दै गएका छन्। व्यक्तिले पसलहरूमा १० रूपैयाँको सामान किन्नेदेखि सरकारले तिर्ने अर्बौंको भुक्तानीसमेत नगदरहित हुन थालेको छ।
तर, भुक्तानी सुरक्षालाई हेरेर सीमित प्रयोजन बाहेकका काममा सीमा तोकिएको छ। नियमित कारोबारमा नियमित भुक्तानीको क्रममा कतिको सीमा छ? कस्तो प्रयोजनमा सीमा छैन? नेपाल राष्ट्र बैंकले यस विषयमा प्रष्ट पारेको छ।
मुख्यतः वालेटमार्फत सानो मूल्यका भुक्तानी कारोबार गरिन्छ। यस अन्तर्गत क्युआर कोड, मोबाइल बैंकिङ वा इन्टरनेट बैंक पर्दछन्।
मोबाइल बैंकिङ एप, कनेक्ट आइपिएस र क्युआर कोडमार्फत गरिने कारोबारका लागि दिनको ३ लाख रूपैयाँको सीमा राखिएको छ। महिनामा कति भन्ने सीमा भने छैन। वेब एप्लिकेसनको सहायतामा कनेक्ट आइपिएस वा इन्टरनेट बैंकिङमार्फत हुने कारोबारमा दिनको २० लाख रूपैयाँको सीमा रहेको छ।
बैंक खाताबाट वालेटमा गरिने रकम स्थानान्तरण र वालेटबाट अन्य खातामा गरिने रकम स्थानान्तरणमा दिनको २ लाख र महिनाको १० लाखको सीमा राखिएको छ। एक वालेटबाट अर्को वालेटमा रकम स्थानान्तरण गर्न दिनको ५० हजार र महिनाको ५ लाख रूपैयाँको सीमा छ।
तर, नेपाल सरकारलाई भुक्तानी गर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिस्ट्रेशन तथा सेवा शुल्क, खानेपानी महसुल, विद्युत महसुल, दूरसञ्चार शुल्क, सामाजिक सुरक्षा कोषको रकम भुक्तानी, विद्यालय शुल्क, बीमा प्रिमियम भुक्तानीमा माथि उल्लेखित कुनै पनि सीमा लाग्दैन। त्यस्तै, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्डको प्रयोग गरी गरिने भुक्तानीमा पनि कुनै सीमा रहेको छैन।
वालेटबाट वालेट प्रयोगकर्ताको आफ्नै बैंक खाता (वालेटमा लिंक गरिएको) मा रकम स्थानान्तरण गर्दा कुनै सीमा छैन।
व्यावसायिक प्रयोजनका लागि विशेष भुक्तानी विशेषतः कर्पोरेट-पे, इन्टरबैंक फन्ड ट्रान्सफरमार्फत गरिन्छ। यस्तो कारोबारको हकमा छुट्टै सीमा राखिएको छैन।
ठूलो मूल्यको भुक्तानी आरटिजिएस प्रणालीमार्फत गरिन्छ। यसको लागि २ लाखभन्दा माथिको रकम मात्रै कारोबार गर्न सकिन्छ।
यो प्रणाली आइतबारदेखि बिहीबारसम्म बिहान ८:३० बजेदेखि बेलुका ७:३० बजेसम्म र शुक्रबार बिहान ८:३० बजेदेखि दिउँसो २:४५ बजेसम्म सञ्चालनमा रहेको छ।
Published Date: 08 October 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news