देउवा, ओली र प्रचण्डलाई राष्ट्रपतिको सन्देश : कार्कीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्दै छु

देउवा, ओली र प्रचण्डलाई राष्ट्रपतिको सन्देश : कार्कीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्दै छु : Icon Khabar

काठमाडौँ, भदौ २७ । राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस तिनै दलका नेताहरुलाई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन लागेको सन्देश दिएका छन् ।

स्रोतका अनुसार राष्ट्रपतिले सभामुख देवराज घिमिरे मार्फत कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो सन्देश पठाएका छन् । राष्ट्रपति पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगलाई पनि सन्देश पठाएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवास पुगेका उपमहासचिव वर्षमान पुनको समन्वयमा राष्ट्रपति पौडेलले प्रचण्डसँग टेलीफोनमा कुरा गरेका हुन् ।

स्रोतका अनुसार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि टेलिफोनमार्फत नै संवाद गरेका थिए । उनीहरु मार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि पौडेलले सन्देश प्रवाह गरको स्रोतका भनाई छ ।

जेन–जीसमूहले बुधबार ‘भर्चुअल’ मतदान गरेर पूर्व प्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा अघि सारेको थियो । त्यसलाई काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहले समर्थन गरेका थिए । तर बालेनले संसद् विघटन र संवैधानिक निकायका पदाधिकारीको नियुक्ति खारेजी हुनुपर्ने सर्त अघि सारेका थिए ।

विहिबारको छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका थिए । यसअघि राष्ट्रपति पौडेलका तर्फबाट प्रधानसेनापति सिग्देलले जेनजीका विभिन्न समूह, हर्क साम्पाङ, दुर्गा प्रसाईँ लगायतसँग वार्ता गरेका थिए। प्रधानसेनापति सिग्देलले बुधबार दिनभरजसो आन्दोलनरत विभिन्न पक्षका प्रतिनिधिसँग दुईपक्षीय र बहुपक्षीय छलफल गरेका थिए ।

त्यसअघि राष्ट्रपतिले संविधानविद् एवं वरिष्ठ अधिवक्ताहरू सूर्य ढुंगेल, पूर्णमान शाक्य, चन्द्रकान्त ज्ञवाली, भीमार्जन आचार्य र ललित बस्नेतलाई बोलाएर पनि परामर्श लिएका थिए। उनीहरुसँगको छलफलमा संविधानमा कमभन्दा कम क्षति पुग्ने गरी संकटको निकास दिने अधिकार राष्ट्रपतिमा निहित हुने निष्कर्ष निकालिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2025
Website | + posts