वीरगन्जमा १ सय ६१ झाडापखाला तथा हैजाका बिरामी उपचारत

वीरगन्जमा १ सय ६१ झाडापखाला तथा हैजाका बिरामी उपचारत : Icon Khabar

पर्सा, भदौ ८ । वीरगन्जमा १ सय ६१ झाडापखाला तथा हैजाका बिरामी अस्पतालमा उपचारका लागि पुगेका छन् । तीमध्ये ७१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ ।

वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राजु साहका अनुसार हालसम्म ७१ जनामा हैजा पुष्टि भएको हो । धेरै बिरामी नारायणी अस्पतालमा उपचाररत छन् । तराई अस्पताल, नेसनल मेडिकल कलेज, भवानी अस्पताल, वीरगन्ज हेल्थ केयर अस्पताल, अली अर्थो अस्पताल, नारायणी सेन्टर अस्पताल र मंगलम डाइग्नोस्टिक सेन्टरमा पनि उपचार भइरहेको बताइएको छ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले वीरगञ्जमा फैलिएको हैजाको महामारी रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले आफ्ना सबै संयन्त्र र निकायलाई परिचालन गरिसकेको बताएका छन् ।

आइतबार वीरगञ्जमा बसेको जिल्ला स्वाास्थ्य संकट व्यवस्थापना समितिको बैठकलाई सम्वोधन गर्दै मन्त्री सिंहले हैजा महामारी रोकथाम र नियन्त्रणका लागि आवश्यक जनशक्ति, औषधी र किटहरुको व्यवस्थापन गरिएको बताए ।

उनले भने, ‘वीरगञ्जमा देखिएको यो महामारीप्रति प्रदेश सरकार गम्भीर छ । सबै निकायलाई अलर्ट अवस्थामा राखेका छौं। बिरामीको उपचारमा कुनैपनि कमी वा लापरवाही हुन दिदैनौं । यसका लागि औषधि, उपकरण, जनशक्ति जे जे चाहिन्छ मधेस सरकार दिन तयार छ । पछि हट्दैन ।’

महामारी फैलिदै गएपछि स्वास्थ्यले गत शुक्रबारबाट प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक सरोज न्यौपानेको नेतृत्वमा विज्ञसहितको टोली वीरगञ्जमा खटाएको छ । यस्तै प्रदेश आपूर्ति प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुर नेतृत्वको अर्को टोली पनि वीरगञ्जमा परिचालन भईरहेको छ ।

आइतबारको बैठकमा प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. ओमप्रसाद अर्यालले नारायणी अस्पतालमा प्रदेशको स्वास्थ्य मन्त्रालयका तर्फबाट केही मात्रामा औषधी उपलब्ध गराइसकेको जानकारी गराए। नारायणी अस्पतालमा आइतबारदेखि प्रदेश सरकारले १० जना मेडिकल अफिसर चिकित्सक, १० जना पारामेडिक्स स्टाफ र केहि स्टार्फ नर्स पठाइसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 August 2025
Website | + posts