वीरगन्ज, भदौ ८ । वीरगन्ज मा हैजाको सङ्क्रमण समुदायस्तरमै फैलिएको छ । शुक्रबार साँझ वीरगन्जको तराई अस्पतालमा झाडापखाला लागेर उपचाररत तीन जना बिरामीमा हैजा देखिएको हाे ।
वीरगन्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका अधिकृत राजु साहका अनुसार आइतबार दिउँसोसम्ममा ५४ जना झाडापखाला लागेर अस्पताल भर्ना भएका बिरामीहरूमा हैजाको सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्यकर्मीहरू अस्पतालमा नै रहनु भएको र केही परीक्षणको रिपोर्ट नआएकाले एकिन सङ्क्रमितको सङ्ख्या साँझमा निश्चित हुने उनले बताए।
वीरगन्जका एक दर्जनभन्दा बढी अस्पतालमा करिब एक सय पचास जना झाडापखाला तथा हैजा पुष्टि भएका बिरामीको उपचार चलिरहेको छ । सबैभन्दा बढी बिरामीको घुइँचो भने नारायणी अस्पतालमा छ ।
नारायणी अस्पतालमा हैजा पुष्टि भएका २५ जना र झाडापखालाका गरी ४५ जना बिरामीको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । त्यसैगरी तराई अस्पतालका १२ जना बिरामीको पनि हैजाको उपचार भइरहेको छ ।
यस्तै, नेसनल मेडिकल कलेजमा ६ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ भने वीरगन्ज हेल्थ केयर अस्पतालमा ३ जनामा हैजा सङ्क्रमण पुष्टि भएका बिरामी उपचाररत छन् । यसैगरी, भवानी अस्पताल, अली अर्थो ट्रमा सेन्टर, नारायणी सेन्ट्रल अस्पताल र मङ्गलम अस्पतालमा २-२ जना सङ्क्रमितको उपचार भइरहेको छ ।
सबैभन्दा बढी नारायणी अस्पतालमा करिब ४५-५० जना, तराई अस्पतालमा ३५-४० जना र वीरगन्ज हेल्थकेयर अस्पतालमा करिब ३० जना तथा एडभान्स अस्पतालमा १४ जना, नेसनल मेडिकल कलेजमा १४ जना झाडापखाला एवं हैजाका बिरामी अहिले पनि उपचाररत छन् ।
शुक्रबार राति करिब ३० जना झाडापखालाका बिरामी उपचाररत थिए र शनिबार रातिसम्म ९२ जना बिरामी उपचाररत थिए । आइतबार बिहानसम्ममा त्यो सङ्ख्या १ सय २९ पुगेको थियो भने आइतबार दिउँसोसम्ममा झाडापखाला तथा हैजाका बिरामीको सङ्ख्या एक सय पचासभन्दा माथि छ ।
अधिकांश बिरामी वीरगन्ज महानगरपालिका वडा ११, १२, १६ र १८ का रहेका छन् । हैजा सङ्क्रमण पुष्टि भएर अस्पतालमा उपचाररत एक जना उपचारपछि घर फर्किएका छन् भने ४३ जनाको उपचार भइरहेको छ ।
हैजा सङ्क्रमण फैलिने मुख्य कारण तथा स्रोतको बारेमा अनेक अड्कलबाजी भइरहे पनि आधिकारिक रूपमा यसैबाट हैजा फैलिएको हो भन्ने यकिन जानकारी कहि कतैबाट आउन सकेको छैन ।
Published Date: 24 August 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1