मृगौला फेल हुँदैछ भन्ने अवस्थामा देखिने संकेत

मृगौला फेल हुँदैछ भन्ने अवस्थामा देखिने संकेत : Icon Khabar

काठमाडौं, असार १७ । हाम्रो शरीरका महत्वपूर्ण अंगहरु मध्ये एक हो मृगौला । यो अंगले हाम्रो शरीरमा भएको रगत शुद्ध गर्ने, शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने तथा रक्तचाप नियन्त्रण गर्ने काम गर्छ ।

मृगौलाको काम सुस्त हुँदा अथवा यसले राम्ररी काम नगर्दा शरीरले केही संकेत दिन्छ । दुर्भाग्यवश, मानिसहरूले यी संकेतहरूलाई सामान्य मानेर बेवास्ता गर्छन् ।

समग्रमा, मृगौला रोग बिस्तारै विकसित हुन्छ र कहिलेकाहिँ लक्षणहरू यति हल्का हुन्छन् कि मानिसहरूले तिनीहरूलाई बेवास्ता गरिरहेका हुन्छन् । यदि तपाईँ पनि यी ६ वटा लक्षणहरू मध्ये कुनै पनि लगातार महसुस गर्दै हुनुहुन्छ भने, यसलाई हल्का रूपमा नलिनु होस् । यो बेवास्ताले भविष्यमा मृगौला फेलजस्तो गम्भीर अवस्था निम्त्याउन सक्छ ।

थकान र कमजोरी महसुस

पहिलो संकेत हो थकित र कमजोर महसुस गर्नु । मृगौलाले रगतलाई राम्ररी सफा गर्न नसकेपछि शरीरमा विषाक्त पदार्थ जम्मा हुन थाल्छ । यसले व्यक्तिलाई धेरै काम नगरे पनि सधैं थकित र कमजोर महसुस गराउँछ ।

पिसावमा समस्या

दोस्रो संकेत पिसाबसँग सम्बन्धित समस्या हो । बारम्बार पिसाब लाग्नु, पिसाबमा जलन हुनु, यसको रंग गाढा हुनु । यी सबै लक्षणहरूले मृगौला फेल भएको संकेत गर्न सक्छन् । यदि पिसाबमा रगत देखियो भने यो अझ गम्भीर लक्षण हुन सक्छ ।

अनुहार, आँखा अथवा खुट्टा सुन्निने

तेस्रो सामान्य लक्षण भनेको अनुहार, आँखा अथवा खुट्टा सुन्निने हो । मृगौलाले शरीरबाट अतिरिक्त पानी निकाल्न नसकेपछि त्यो शरीरमा जम्मा हुन थाल्छ । त्यसको प्रभाव विशेष गरी बिहान आँखा मुनि सुन्निने अथवा खुट्टामा भारीपनको रूपमा देखिन्छ ।

भोक नलाग्ने

चौथो संकेत भोक नलाग्नु र वाकवाकी लाग्नु हो । रगतमा फोहोर पदार्थको मात्रा बढ्दा पाचन प्रणालीमा असर पर्छ । यसका कारण व्यक्तिको खानामा रुचि घट्छ, वाकवाकी लाग्न थाल्छ र कहिलेकाहीँ वान्ता पनि हुन सक्छ ।

चिलाउने र छाला सुख्खा हुनु

पाँचौं लक्षण छालामा चिलाउने र सुख्खापन हो । मृगौलाले खनिज र पोषक तत्वको सन्तुलन कायम राख्न नसक्दा छालामा असर पर्छ । लगातार चिलाउने, सुख्खा छाला र रातो दाग यसको लक्षण हुन सक्छ ।

सास फेर्न गाह्रो

छैटौं तथा गम्भीर लक्षण भनेको सास फेर्न गाह्रो हुनु हो । मृगौला फेल हुँदा शरीरमा पानी जम्मा हुन सक्छ, जसले फोक्सोमा दबाब दिन्छ। यसबाहेक रगतमा अक्सिजनको मात्रा कम हुँदा सास फेर्न गाह्रो हुन सक्छ ।

मृगौलालाई स्वस्थ राख्न के गर्ने ?

मृगौलालाई स्वस्थ राख्न प्रशस्त पानी पिउने, धेरै नुन र प्याक गरिएको खानेकुरा नखाने, रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने, चिकित्सकको सल्लाह बिना पेनकिलर वा अन्य औषधि सेवन नगर्ने ।

Published Date: 01 July 2025
Website | + posts




ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ