ऐतिहासिक दोलखा भीमसेन मन्दिरमा तपाई पुग्नुभयो? (फोटो फिचर)

ऐतिहासिक दोलखा भीमसेन मन्दिरमा तपाई पुग्नुभयो? (फोटो फिचर) : Icon Khabar

दोलखा, वैशाख ८ । दोलखा भीमसेन मन्दिर दोलखा जिल्लाको दोलखा बजारमा अवस्थित श्री भीमेश्वर भीमसेनलाई भनिन्छ। पौराणिक कालमा दोलखा सहरमा पाण्डबहरू गुप्तवास बसेको र सो गुप्तावास बस्दाको समयमा प्रयोग गरिएको सांकेतिक भाषा नै हाल दोलखाली नेवारहरूले बोल्ने नेवार भाषा हो भन्ने किम्बदन्ती रहेको छ।

त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ। त्यसैले एक शिला तीन अबतार मानिएको छ। कसै कसैले यहि मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेको छ। शिवको अर्को रूप भैरव, भीम पनि हो त्यसैले महादेव पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको रूपमा वली पूजा समेत गरिन्छ।

यस भीमेश्वर, भीमसेनमा साधारण पूजा देखि पञ्चवली र एकल पूजा -याकर पूजा) समेत गरिने परम्परागत चलन छ। भीमेश्वरको पूजाको लागि गुठीको व्यवस्था भएको छ। जसमा ४ गुठीयार र ४ टहलुवाहरू छन्। गुठीयारको काम नियमित रूपमा राकिय -रासपूजा) पूजा, चाडपर्व अनुसारको विशेष पूजा गर्नु हो भने टहलुवाहरूको काम मन्दिर र इधर भगवानको पूजा सामान ठिक गर्नु र चल सम्पति रेखदेख गर्नु हो।यस भीमेश्वर भीमसेन मूर्तिमा शिव महादेवको रूपमा रुद्री पजा गरिन्छ भने भीमसेन भैरवको रूपमा वलीपूजा पनि भइरहेको छ।

रुद्रीको साथै वलीपूजा गर्ने चलन कहिलेदेखि भयो यकिन गरी भन्न सकिने अवस्था नभए पनि स्थापना कालदेखि भइरहेका अनुमान छ। वलीपूजाको बेला महादेवशिव चुडामणिमा(दोलखा भीमसेन चुडामणि) गएर बस्नुहन्छ र भीमसेन भैरवले मात्र वली पूजा ग्रहण गर्नुहुन्छ भन्ने जनधारणा छ। भीमसेन भीमेश्वर मूर्तिबाट रातो र सेतो तल चूडामणिको टप्पामा बाँधिएको हुन्छ। देशमा सङ्कट अनिष्ट हुनुभन्दा पहिले भीमसेन मूर्तिमा पसिना आउने गर्दछ। त्यसैले भीमसेनलाई पूर्व सूचक भनिएको हो।

यो भीमेश्वर भीमसेनको मूर्ति कहिले कसले स्थापना गरेको हो एकिन गर्ने आधार प्रमाण भने भेटिएको छैन। वडा दशैमा पूजा संकल्प गर्दा किरात कालिन देखिका राजा महाराजाहरूको नाम लिने चलन छ। जस्तो हाइहाइ राजा, सुइसुइ राजा डवाफे गोंस, तुफी गोंस राजा, गोल्मा राजा, लिच्छवी कालिन, मल्लकालिन, पात्रवंशी राजा तथा गद्धिसिन श्री ५ महाजारधिराज समेतको नाम लिने गरिन्छ।

महाभारतको युद्ध पछि नै भीमसेनको मूर्ति स्थापना गरिएको अनुमान छ। भीमसेनको मूर्तिको साथै दाया तर्फ आमा कुन्ति , बाया तर्फ पत्नी द्रौपति र यस पछिको दाया वाया उत्तर दक्षिणमा भाइ नहकुल सहदेवको साधारण शिला मूर्ति स्थापना गरिएको छ। पाँच पाण्डव मध्येका युधिष्ठीर र अर्नुनको भने नाम निसाना छैन। भीमसेन वीर, साहसी, बलवान अन्याय अत्याचारको विरुद्ध लड्ने योद्धा भएको हुनाले भीमसेनलाई पूँजि आएको हुन सक्छ।

पाँच पाण्डवहरू गुप्तवास जाने बेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको चामपूजा भन्ने डाडामा बसी श्री गौरी शंकरको प्राथना गरेका थिए भन्ने भनाई पनि छ। कालान्तरमा भरियाहरूले भात पकाउनको लागि २ गोटा ढुङ्गा खोजी ल्याई यही त्रिभुजमा जोडी चुलो वनाए। भात पकाउदा त्रिभुज तर्फको भात काँचै भएकोले रीसले पनि उसले हिर्काउदा दाहिने तर्फ चोइटा गई दुध र रगत मिश्रति तरल पदार्थ वनेको देखि १२ जना भरियाहरू डराई यो साक्षत भगवान रहेछ भनि माफी मागी पूजा गरी आरूनो बाटो लागेछन् भन्ने किम्वदन्ति पनि छ।

२०३०।३१ साल सम्म सुनखानीका १२ भरियाका सन्तानहरूले प्रत्येक बडा दशैको अष्टमीको दिन १२ बोका पूजा गर्ने चलन थियो। पछि जनसाधारण देखि राजा महाराजाहरूले पनि पूजा गरी जग्गा जमीन गुठी राखेको र सुनचाँदीका गहना समेत चढाएको देखिन्छ। बडा दशै, चैते दशै , कार्तिकमा महास्नान पूजा, भीम एकादशी, शिवरात्री, रक्षा बन्धन, आदि पर्वहरूमा विशेष पूजा र भिड लाग्ने गर्दछ भने बडा दशैमा ३ राँगो, १२ बोका थमा, हाँस, कुखुराको विशेष बलिपूजा गरिन्छ।

श्री भीमेश्वर, भीमसेनलाई भविष्य सूचकको रूपमा पनि मानिन्छ थाहा भए सम्म वि.सं. १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि पसिना आएको थियो । त्यसैगरी पछिल्ला चरणमा धेरै पटक पसिना आएको इतिहास साक्षी छ । हरेक सालहरूमा पसिना आएको ६ महिना भित्र देशमा राजनैतीक, प्राकृतिक या दरवारमा के कस्तो घट्ना भयो सवैलाई थाहा भएकै कुरा हो।

यसरी श्री भीमसेन मूर्तिमा पसिना आउँदा पसिना पुछेको कपास पहिले पहिले राजदरबार पठाउने गरिन्थ्याे जब देशकाे व्यवस्था परिवर्तन भएर राष्ट्राध्यक्षकाे रूपमा राष्ट्रपति मानिने संविधान बन्याे त्यसपछि साे पसिना पुछिएकाे कपास राष्ट्रपतिलाई बुझाउने गरिन्छ र त्यहाँबाट देश , जनता र सम्पूर्ण प्राणी जगतकाे तर्फबाट अज्ञानतावश कुनै भूल हुन गएमा क्षमा गरेर कुनै पनि खालकाे अप्रिय र अकल्पनीय घटना या दुर्घटना हुनबाट जाेगाउनु भन्ने आशयले क्षमापूजा स्वरूप बलि पूजा पठाउने चलन रहिरहेकाे छ ।

भीमसेनलाई व्यापारीहरूको इष्टदेवको रूपमा पनि पुजिन्छ। उहिले र अहिले पनि व्यापार गर्न पहाड,डाँडा नदिनाला भएर जानुपर्ने र चोर डाका जीव जन्तुको भय हुने भएकोले भीमसेनलाई सम्भिएर पुकार गरेमा संकटबाट मुक्त पाइने भएकोले र नोक्सान नभई नाफा नै हुने भएकोले व्यापारी वर्गहरूले भीमसेनलाई इष्टदेवको रूपमा मानेका हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 April 2025
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने