अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले ल्याए नयाँ निर्देशिका

अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने : Icon Khabar

काठमाडौं, माघ २४ । चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटको अगाडि र पछाडिको भागमा अब १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व क्यान्सर दिवसको अवसर पारेर ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पारित गरेको उक्त निर्देशिका अनुसार चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा तथा प्याकेटहरुको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रंगीन चित्र र चेतावनीमूलक सन्देश अनिवार्य छाप्नु पर्ने व्यवस्था राखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नसर्ने रोगका मुख्य कारकमध्ये एक सुर्तीजन्य पदार्थको सेवन रहेको उल्लेख गर्दै त्यसलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको बताए। उनले भने, ‘हामीले निरोगी नेपाल बनाउन विभिन्न अभियान चलाइरहेका छौं। बिरामी हुँदा उपचार गर्ने राज्यको दायित्व हो। तर बिरामीको सङ्ख्या बढ्दै जाँदा सबैको निःशुल्क उपचार गर्न नसकिने अवस्था पनि हुन्छ। नागरिकलाई कसरी निरोगी बनाउने तथा रोग लागेको अवस्थामा पनि कम खर्चमै उपचार सेवा दिने भन्ने मुख्य कुरा हो। त्यही प्रयासको एउटा नतिजा यो निर्देशिका हो।’ सुर्तीजन्य पदार्थका प्याकेटमा देखिने चेतावनीमूलक चित्र तथा सन्देशले त्यसको सेवनमा निरुत्साहित गर्ने विश्वास रहेको उनले बताए।

हाल सुर्तीजन्य पदार्थका प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देश रहँदै आएको छ। नेपालले यसअघि ७५ बाट ९० प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देश पुर्‍याउँदा ब्लुमबर्ग अवार्ड समेत प्राप्त गरेको थियो। नेपालले निरन्तर चेतावनीमूलक चित्र तथा सन्देश बढाउँदै लैजाने नीति लिएको छ।त्यसलाई नै मध्येनजर गरेर १०० प्रतिशत पुर्‍याएको मन्त्रालयका सचिव डा रोशन पोखरेल बताउँछन्। उनले भने, ‘सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्नका लागि चेतावनीमूलक चित्र तथा सन्देश बढाउनुपर्ने थियो। त्यहीअनुसार निर्देशिका आएको हो।’

निर्देशिकामा उत्पादकले सुर्तीजन्य पदार्थको बट्टा, र्‍यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ्ग र लेबुलको बाहिरी भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानीकारक छ भन्ने लगायतका चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थ सेवनको असरबाट भएको घातक, रंगीन चित्र प्रष्ट रुपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अंकित गर्नुपर्ने भनिएको छ।

मन्त्रालयका कानुन उपसचिव गोपीकृष्ण रेग्मीले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन नियमावली २०६८ को २३ अनुसार निर्देशिका बनाइएको बताए। उनले भने, ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ ले कम्तिमा ७५ प्रतिशत भनेर त्यो भन्दा बढी पनि चेतावनीमूलक चित्र तथा सन्देश छाप्नुपर्ने कानुन बनाउने अधिकार मन्त्रालयलाई दिएको छ। अन्तर्राष्ट्रिय मान्यता, नेपालले विश्वमञ्चमा गरेका प्रतिबद्धता र निरोगी नेपाल अभियानलाई मध्येनजर गर्दै कानुन बनाइएको हो।’

निर्देशिका अनुसार चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा खतराका चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्ननुपर्ने व्यवस्था गरिएको छ। चुरोटका लागि निर्देशिकामा विभिन्न पाँच वटा खतराका चित्र र सन्देशहरु राखिएको छ। यस्तै बिडीको बट्टा, प्याकेट र र्‍यापर्समा पनि ८० प्रतिशत खतराका चित्र र २० प्रतिशत चेतावनीमूलक सन्देश राख्ने व्यवस्था निर्देशिकामा छ।

यसैगरी, खैनी, सुर्ती र गुट्खा जस्ता सुर्तीजन्य पदार्थको बट्टा प्याकेट र र्‍यापर्समा अगाडि र पछाडिको ६० प्रतिशत भागमा घातक चित्र र अगाडिको बाँकी रहेका ४० प्रतिशत भागमा २०/२० प्रतिशतका दुई वटा चेतावनीमूलक सन्देश र पछाडिको भागमा भने एउटा सन्देश २० प्रतिशत र अर्कोमा १० प्रतिशत हुने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2025
Website | + posts