भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार तथा सांस्कृतिक गुरुहरूको सम्मान

भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार तथा सांस्कृतिक गुरुहरूको सम्मान : Icon Khabar

भक्तपुर, असोज ११ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भएको ४५ औं विश्व पर्यटन दिवसको अवसरमा गुन्हीपुन्ही सापारु २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण, भक्तपुरका सांस्कृतिक गुरुहरूको सम्मान तथा पर्यटन सम्बद्व संघ संस्था, व्यवसायी र सहयोगीहरूलाई सम्मान कार्यक्रम शुक्रबार एक भव्य समारोहबीच सम्पन्न भयो ।

कार्यक्रममा सम्मानित संस्कृतिकर्मी र सांस्कृतिक गुरुहरुलाई बधाईज्ञापन गर्दै सांसद सुवालले भक्तपुरलाई सफा, स्वच्छ र पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न नगरबासीहरुलाई सरसफाइबारे सचेत पार्नुपर्ने बताए ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व पर्यटन दिवसको अवसरमा पुरस्कृत हुने सबैमा बधाई एवम् धन्यवाद ज्ञापन गरे ।

भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न भक्तपुर नपाले संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र रहेर काम गर्दै आएको बताउदै भक्तपुर नपामा गत वर्ष १ लाख ४६ हजार विदेशी पर्यटकहरुले भक्तपुर भ्रमण गरेको बताए ।

भक्तपुर नपाले २०८१ मंसिर २८ देखि पुस २ गतेसम्म ५ दिने भक्तपुर महोत्सव गर्ने तयारी गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर महोत्सव भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे।

त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले पर्यटन प्रवद्र्धनको निम्ति शान्ति र सुरक्षा अपरिहार्य विषय भएको बताउँदै सांस्कृतिक, साहित्यिक, सामाजिक र राजनीतिक गतिविधिलाई सँगसँगै अगाडि बढाउन सके जनताको चेतनास्तर अभिवृद्धिमा टेवा पुग्ने बताए । उनले भक्तपुर नपाले सांस्कृतिक गुरु र संस्कृतिकर्मीलाई सम्मान गर्ने परम्परालाई आगामी दिनहरुमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे ।

भक्तपुर नपाकी  उप्रमुख रजनी जोशीले भक्तपुरको पहिचानसँग सम्बन्धित मूर्त र अमूर्त संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण गर्ने लक्ष्यका साथ यहाँका संस्कृतिकर्मीहरुलाई प्रोत्साहनस्वरुप सम्मान र्काक्रम आयोजना गर्दै आएको बताइन् ।

भक्तपुर नपाले विदेशी पर्यटकहरुबाट उठाउँदै आएको पर्यटन शुल्कबाट नगरको सन्तुलित ढंगले विकास गर्दै आज देशकै सफल स्थानीय तहको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको उनले बताइन्  ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले पर्यटन उद्योग नेपालको अर्थतन्त्रको महत्वपूर्ण स्रोत भएको बताउँदै पर्यटन उद्योगको प्रवद्र्धनमा राज्यको लगानी आवश्यक रहेको बताए । भक्तपुरले यहाँको मौलिकता जोगाउन गरिएका सांस्कृतिक गतिविधिहरु प्रशंसनीय भएको बताउँदै उनले भक्तपुरले पनि पर्यटकहरु लक्षित होम स्टेहरु सञ्चालन गरी पर्यटकहरुको बसाई लम्ब्याउनेतर्फ जोड दिनुपर्ने बताइन्  ।

संस्कृतिविद् विश्वमोहन जोशीले पर्यटन दिवस मनाउनुको इतिहास र उद्देश्यबारे प्रष्ट पार्दै सांस्कृतिक सम्पदा, ऐतिहासिक गतिविधि, कला र संस्कृतिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

राष्ट्रिय कला संग्रहालयका अधिकृत यमुना महर्जनले भक्तपुर घुम्न आउने आन्तरिक र बाह्य पर्यटकहरुको आगमन उत्साहजनक रहेको बताउँदै भक्तपुरका लोपोन्मुख कला र संस्कृति संरक्षणमा भक्तपुर नपाको महत्वपूर्ण योगदान भएको बताइन् ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी धौबन्जाले संस्कृतिकर्मी र सांस्कृतिक गुरु सम्मान कार्यक्रमले कलाकार र संस्कृतिकर्मीमा थप ऊर्जा र हौसला मिल्नेछ भन्दै भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नपासँग सहकार्य र समन्वयमा यहाँको व्यापार व्यवसाय प्रवद्र्धनमा जोड दिँदै आएको बताइन्  ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सुवालले पर्यटन पथप्रदर्शकहरु, व्यवसायी संस्था र सहयोगीहरुहरूलाई कदर पत्र प्रदान गरे । नगर प्रमुख प्रजापतिले २२ जना सांस्कृतिक गुरुहरूलाई दोसल्ला ओढाई नगद रु. २०,०००।– सहित सम्मान पत्र प्रदान गरेका थिए भने उत्कृष्ट कलाकारहरूलाई रु. ५००० नगद पुरस्कारबाट पुरस्कृत गरेका थिए ।

कार्यक्रममा प्रतियोगितामा प्रथम स्थान हासिल गरेको कोलाछें प्याखं समूहको फाकंदली प्याखं, गलसी पुखु देवी प्याखं समूहको देवी प्याखं र याताव दाफा भजन मण्डल झौखेलको माक प्याखँ पनि देखाइएको थियो ।

गुन्हीपुन्ही सापारु २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधामा मको लुसी प्याखं खल, भनपा ९ का विदिसा लवजू महिला उत्कृष्ट कलाकार, मुस्याख्व परिवार देवी प्याखं समूह भनपा ३ का लक्ष्मीप्रसाद मानन्धर उत्कृष्ट पुरुष पुरस्कार, सिद्धि गणेश प्याखं समूह भनपा ७ का विनेश खाइजु उत्कृष्ट बाल कलाकार, मंगलमाया वनमाला समेतको घिन्ताङघिसी समूह भनपा ७ का निर्देशक लक्ष्मीप्रसाद वनमाला उत्कृष्ट निर्देशक र च्वङा गणेश सांस्कृतिक समूह भनपा १ का साइला वैद्य उत्कृष्ट लेखकबाट सम्मानित भए ।

आज सम्मानित हुने सांस्कृतिक गुरुहरू भ.न.पा वडा नं १ बाट देवचन्द्र बज्राचार्य र मंगलबहादुर भैल, वडा नं २ बाट रामभक्त ब्यान्जु र विकुबहादुर पक्का, वडा नं ३ बाट हर्षविर धुख्वा र बद्रीभक्त खर्बुजा, वडा नं ४ बाट न्हुछेकुमार प्रजापति र चन्द्रबहादुर कपाली, वडा नं ५ बाट जगनाथ त्वानाबासु र ब्रम्हकाजी दर्शनधारी, वडा नं ६ बाट आसराम अवाल र गणेशबहादुर सुवाल, वडा नं ७ बाट नारायणभक्त वनमाला र मोतिलाल लाखाजु, वडा नं ८ बाट तुल्सीनारायण गोसाई र कृष्णगोपाल प्याथ, वडा नं ९ बाट तुल्सीभक्त कोजु र राजाराम श्रेष्ठ, वडा नं १० बाट रामचन्द्र सुवाल र काजीलाल मुलगुठी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 September 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित