कौशलटारमा नापतौल डोर कार्यक्रम सञ्चालन हुने

कौशलटारमा नापतौल डोर कार्यक्रम सञ्चालन हुने : Icon Khabar

भक्तपुर, असोज ७ । मध्यपुर थिमी नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा मध्यपुर थिमी नगरपालिकामा सञ्चालित नापतौल डोर कार्यक्रमअन्तर्गत मंगलबार कौशलटारमा कार्यालय राखेर सेवा प्रदान गरिने भएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले गत आइतबार मध्यपुर थिमी नगरपालिकाको मिलरोडस्थित ग्ल्याडस्टोन एकेडेमी स्कुल अगाडि कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेकोमा सोमबार शंखधर चोकबाट सेवा प्रदान गरिएको हो । नापतौल डोर कार्यक्रमअन्तर्गत मंगलबार ३ नं. वडा कार्यालय परिसर कौशलटारमा कार्यालय राखेर टोलीले सेवा दिने संघले जनाएको छ ।

संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको स्थानीय स्तरमै सहज रुपमा नयाँ दर्ता तथा नवीकरणका लागि भक्तपुर उद्योग वाणिज्य संघको पहलमा नापतौल डोर कार्यक्रम सञ्चालन गरेको बताइन् । जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि जिल्लाका नगरपालिकाहरुका विभिन्न स्थानमा कार्यालय राखेर डोर कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिइन् । आगामी वर्षहरुमा पनि जिल्लाका विभिन्न स्थानमा डोर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिन पहल गर्ने उनले बताइन् ।

संघका कोषाध्यक्ष एवं संघअन्तर्गतको बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले व्यापारी व्यवसायीहरु नजिकै आफूलाई पायक गर्ने स्थानमै आफूहरुले प्रयोग गर्दै आएको नाप्ने तथा तौलने सामग्रीहरुको दर्ता तथा नवीकरण गर्न पाउँदा खुसी भएका छन् । नापतौल डोर कार्यक्रमबाट व्यापारी व्यापारीहरु नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उनले बताए ।

गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंका सहायक निरीक्षक पवन चन्दले मध्यपुर थिमी नगरपालिकाका व्यवसायी, व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामग्रीहरुको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको जानकारी दिए ।

यसअघि जिल्लाका भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा नापतौल डोर कार्यक्रम सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 September 2024
Website | + posts