नेपालमा हरेक दिन २० जना व्यक्तिहरुले गर्छन् आत्महत्या

नेपालमा हरेक दिन २० जना व्यक्तिहरुले गर्छन् आत्महत्या : Icon Khabar

काठमाडौँ, भदौ २५ । विश्वभर आत्महत्या रोकथाम दिवर मंगलबार विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाउँदै आइएको छ। यसको सुरुवात सन् २००३ मा आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संगठनले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा सुरुवात गरेको थियो।

यस दिवसको मुख्य उदेश्य आत्महत्या रोकथामका लागि सचेतना अभिवृद्धि, यससँग सम्बन्धित लाञ्छाना न्यूनिकरण र विश्वव्यापि रुपमा आत्महत्या रोकथामका लागि भएका कार्यहरुलाई प्रोत्साहन गर्न रहेको छ। नेपालमा पनि हरेक वर्ष आत्महत्या रोकथाम दिवस मनाउदै आइएको छ। यस वर्ष “आत्महत्या बारे संवाद सुरु गरौ; दृष्टिकोण बदलौ” भन्ने नारा सहित विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ।

विश्वमा मृत्युको २० प्रमुख कारणहरु मध्ये आत्महत्या पनि एक मुख्य कारण हो। विश्वमा हरेक वर्ष करिव ७ लाख व्यक्तिहरुले आत्महत्याको कारणले ज्यान गुमाउने गरेका छन्। हरेक ४० सेकेन्डमा १ जनाले आत्महत्याको कारणले मृत्यू हुने गरेको छ।

प्रत्येक आत्महत्याबाट आत्महत्या गर्ने मानिसको ज्यान गुम्ने मात्र नभइ सो व्यक्तिसँग सम्बन्धित १३५ जनालाई पनि आघात पुग्ने तथ्यांक अध्ययनमा पाईएको छ। नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्दा हरेक वर्ष आत्महत्याको दर बढ्दै गरेको देखिन्छ। आर्थिक वर्ष २०८०/०८१ मा ७२२३ जनाले आत्महत्याको कारणले ज्यान गुमाएको देखिएको छ।

जस अनुसार नेपालमा हरेक दिन लगभग २० जना व्यक्तिहरुले आत्महत्याको कारणले ज्यान गुमाइरहेको देखिएको छ। दिगो बिकास लक्ष्यमा आत्महत्याको दरलाई न्यूनीकरण गरी सुस्वास्थ्य प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। तत्कालिन समय सन् २०१५ मा १६.५ जना प्रति १००,००० नेपालीमा रहेको आत्महत्याको दरलाई सन् २०२२ मा ९.७ मा घटाउदै सन् २०३० सम्ममा ४.७ प्रति १००,००० नेपालीमा झार्ने महत्वकांक्षी लक्ष्य लिइएको छ। हालको तथ्यांकमा सुधार ल्याउन बहुपक्षीय सहकार्य अनिवार्य देखिएको छ।

आत्महत्याको कारण बहुआयामिक हुन्छ। यद्यपी आत्महत्याको सम्बन्ध मानसिक स्वास्थ्य समस्यासँग रहेको पाइन्छ। आत्महत्या गर्ने ६८ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या भएको तथ्य अनुसन्धानले देखाएको छ। मानसिक रोगमा जस्तै उदासिनताको रोग (डिप्रेसन) सबै भन्दा प्रमुख कारण हो। विगतमा आत्महत्याको प्रयास गरेको मानिसहरुले आत्महत्या दोहोर्याउने सम्भावना अन्य व्यक्तिहरुको तुलनामा धेरै हुन्छ। साथै लगातार जीवनप्रति नैराश्यता अनुभव गर्ने मानिसहरु र युद्ध, हिंसा, आघातजन्य घटना, लाञ्छना वा भेदभाव अनुभव गरेको व्यक्तिहरुमा आत्महत्या गर्ने सम्भावना बढी छ।

बहुपक्षिय निकायहरुको संयुक्त प्रयत्नबाट आत्महत्याका घटनाहरु न्यूनिकरण गर्न सम्भव हुन्छ। मानसिक रोगको उपचार गर्नाले पनि धेरै मात्रामा आत्महत्या रोकथाम हुन्छ। नेपाल सरकारले आत्महत्या न्यूनिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। आत्महत्या रोकथामका लागि २४ सै घण्टा नि:शुल्क परामर्श दिन राष्ट्रिय हेल्पलाईन ११६६ सञ्चालनमा रहेको छ।

राष्ट्रिय मानसिक स्वास्थ्य रणनिती तथा कार्ययोजना २०७७ ले पनि मानसिक स्वास्थ्यका लागि तिनै तहका सरकारहरुको भूमिकालाई स्पष्ट पारेको छ। मानसिक स्वास्थ्य सेवाको कार्यक्रमहरुलाई विस्तार गर्न सरकारले महत्वपूर्ण कदम लिरहेको छ।

आत्महत्याको लागि प्रयोग हुनसक्ने हानीकारक विषादीको पैठारी र प्रयोगमा प्रतिबन्ध लगाउने, आत्महत्या सम्बन्धी घटनाको जिम्मेवार समाचार सम्प्रेक्षण निर्देशिका जारी गर्ने साथै बालबालिका तथा किशोर किशोरीको सामाजिक-भावनात्मक सिकाईका मोड्युलहरु तयार गरी कार्यान्वयन गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 September 2024
Website | + posts