अवैध तरिकाले गएका १७६ जना नेपाली नागरिक ब्राजिलमा अलपत्र

अवैध तरिकाले गएका १७६ जना नेपाली नागरिक ब्राजिलमा अलपत्र : Icon Khabar

काठमाडौँ, भदौ १३ । अवैध तरिकाले गएका १७६ जना नेपाली नागरिक ब्राजिलको साओ पाउलो विमानस्थलको ट्रान्जिट परिसरमा अलपत्र परेका छन् । अमेरिका लगिदिने मानव तस्करको प्रलोभनमा परेर उनीहरू ब्राजिलमा अलपत्र परेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले ब्राजिलस्थित नेपाली दूतावासको पहलमा नेपाली नागरिकलाई सुरक्षित राख्न पहल भइरहेको जानकारी दिए । त्यहाँ अलपत्र परेका सबै नेपाली नागरिक सुरक्षित रहेको दूतावासले जानकारी दिएको उनले बताए।

विगतमा यसरी ब्राजिल पुगेका विदेशी नागरिकले राजनीतिक शरणार्थीका लागि निवेदन दिएपछि त्यहाँ बस्ने अनुमति पाउने गरेका थिए तर यो व्यवस्था केही दिनअघि मात्र ब्राजिल सरकारले खारेज गरिदिएपछि त्यहाँ पुगेका नेपाली विमानस्थलमै अलपत्र परेका हुन् । यस विषयमा के कसरी समाधान गर्ने भनेर ब्राजिलका सरोकारवाला निकायसँग परामर्श भइरहेको प्रवक्ता राईले जानकारी दिए।

अलपत्र परेकालाई स्वदेश फिर्ता पठाउने वा के गर्ने भन्ने विषयमा ब्राजिल सरकारले औपचारिक रूपमा केही भनेको अवस्था छैन । फिर्ता गर्नुपर्ने अवस्था आएमा अवैद्य रूपमा लगेर अलपत्र पार्ने एजेन्टहरूलाई जिम्मेवार बनाएर उनीहरूमार्फत नेपाली नागरिक फिर्ता ल्याउन भन्नुपर्ने अवस्था आउन सक्ने मन्त्रालयले जनाएको छ ।

नेपाली नागरिकसहित करिब सात सय जना अलपत्र परेको खबरप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै दूतावासले आफ्ना नागरिकलाई आवश्यक मानवीय सहायताका लागि पहल गरेको स्पष्ट पारेको छ । दक्षिण अमेरिकाको ब्राजिललगायतका मुलुक हुँदै अवैध तरिकाले संयुक्त राज्य अमेरिका प्रवेश गराउने उद्देश्यले विभिन्न स्थानबाट त्यहाँ मानिस जाने प्रवृत्ति बढेकाले यस्तो समस्या आएको पनि दूतावासले जनाएको छ । सङ्गठित रूपमा सक्रिय मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवा यस क्षेत्रमा आउने गरेको र ठुलो धनराशिको खर्चसहित अकल्पनीय पीडा बेहोर्नुपरेको दृष्टान्त दूतावासले दर्शाएको छ ।

भर्खर मात्र ब्राजिल सरकारले तत्काल लागु हुने गरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ । जस अनुसार अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने छ । त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 August 2024
Website | + posts