भक्तपुर,भदौ ४ । काठमाडौं उपत्यकामा प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा अर्थात् सापारु मनाइन्छ। यसदिनलाई बलीवर्द प्रतिपदा तथा वृषभ प्रतिपदाको नामले पनि चिनिन्छ।
यसदिन ‘सायात’ गर्ने चलन छ जुन नेवार समुदायले वर्षभरमा दिवंगत भएका आफन्तको नाममा प्रतिकात्मक गाई बनाएर नगर घुमाउने चलन हो। ‘सा’ भन्नाले गाई र ‘यात’ भनेको यात्रा वा जात्रा हो। तर यहाँ ‘सा’लाई गाई भन्दा पनि बसाहालाई बढी प्राथमिकता दिएको आभाष हुन्छ।
भक्तपुरको गाईजात्रा (सापारु) अन्य ठाँउको भन्दा विशेष मानिन्छ। भक्तपुरमा सापारु सुरु भएको संकेत अघिल्लो दिन अर्थात श्रावण शुक्ल पूर्णिमाको दिनबाटै हुन्छ।
यसदिन भक्तपुरको पूर्व फर्केको नौवटा ढुङ्गेधारामा मुख धुने चलन छ। साथै बिहानैपख किसानहरु आ-आफनो खेतमा गई भ्यागुतालाई नौथरि गेडागुडको मिश्रण क्वाँटी र रोटी ख्वाई पूजा गर्छन्। यसलाई ब्यां जा नकेगु भनिन्छ। साथै घरघरमा क्वाँटी र रोटी खाने चलन छ।
भक्तपुरको सापारुको सबभन्दा आकर्षण ताहासाँ अर्थात चारवटा लामो लामो बाँसबाट बनेको गाई हो। ताहासाँको अगाडि-पछाडि कपडाको डोरी समाउने दुई जना हुन्छन्। ताहासाँ बोक्ने चार जना। घरको दुई तला जति अग्लो ताहासाँ विशेषगरी पाका उमेरका दिवंगतको सम्झनामा बनाइन्छ।
यस्ता ताहासाँको अघि-अघि सानादेखि पाका उमेरकासम्मका मान्छे बाजाको तालमा लठ्ठी जुधाई घेन्ताघिंसी नाच नाच्दै आउँछन्। यो यहाँको सापारुको विशेषता हो। घेन्ताघिंसी नाचसँगै विभिन्न प्याँख तथा नाटक देखाइन्छ।
मृतकको नामबाट यसरी फरक-फरक प्रकारका गाई नगर घुमाउनु पूर्व आ-आफना पुरोहित बोलाएर विधिवत पूजा गराउने चलन छ। घरको पिखालखु अगाडि बलेसीमुनि राखी विधीवत् पूजा तथा गौदान गर्नुपर्छ। त्यतिबेला पुरोहितले ‘भाद्रमासे कृष्णपक्षे पैतिपदां तिथौ बलीवर्दोत्सव कर्मणि’ भन्ने वाक्य लिने चलन छ।
साँझतिर भक्तपुर वडा नं ४ स्थित लाकुलाछेबाट परालले मात्र बनेको ‘सुयाम्ह भैल द्यः’ र भद्रकालीको ताहाँसा घेन्ताघिंसीका साथ नगर परिक्रमा गराइन्छ। यसपछि अन्य प्रतिकात्मक गाई ल्याउनु हुँदैन भन्ने मान्यता छ।
भक्तपुरको सापारु आठदिनसम्म विभिन्न देवदेवीको जात्रा गरी कृष्णाष्टमीमा समापन हुन्छ। सापारुबाहेक अन्य दिनमा समेत फर्मायसी रुपमा टोलटोलबाट घेन्ताघिंसी ल्याउने चलनले थप रौनकता थपेको छ।
सापारु नेवार समुदायको एक मौलिक पहिचान रुपमा प्रख्यात छ। हरेक वर्ष आउने यो सँस्कृति परम्परा मात्र होइन। यो एउटा पर्व बनिसकेको छ।
Published Date: 20 August 2024