काभा महिला भलिबल : उपाधिका लागि नेपाल आज भारतसँग भिड्दै

काभा महिला भलिबल : उपाधिका लागि नेपाल आज भारतसँग भिड्दै : Icon Khabar

काठमाडौँ, साउन २३ । नेपालले काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताको उपाधिका लागि आज (बुधबार) भारतसँग भिड्दै छ । फाइनल खेल बुधबार साँझ ५ बजे र इरान र श्रीलंकाबीच तेस्रो स्थानका लागि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

नेपालले मंगलबार दोस्रो सेमिफाइनलमा इरानमाथि ३–० को सोझो सेटको जित निकाली भारतविरुद्धको फाइनल पक्का गरेको हो । पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई सहजै हराएको थियो । नेपाल लिग चरणमा दोस्रो र इरान तेस्रो हुँदै एक–आपसमा सेमिफाइनलमा भिडेका हुन् ।

पछिल्लो संस्करणमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो । प्रतियोगिताको पहिलो र दोस्रो संस्करण नेपालले जितेको थियो । नेपालको उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा भारत बाधक बनेको थियो । घरेलु कोर्टमा नेपाली महिला खेलाडीले फाइनलमा भारतलाई कडा चुनौती दिने योजना बनाएका छन् । यद्यपि, लिग चरणमा नेपालले दक्षिण एसियन जाइन्ट भारतलाई सनसनी रूपमा पाँच सेटमा हराएको थियो । इतिहासमै पहिलो पटक नेपालले भारतलाई स्तब्ध पारेको त्यही नै थियो ।

नेपालले लिगमा चौथो जित निकाली फाइनल यात्रा तय गरेको हो । तेस्रो पटक उपाधि उचाल्न नेपाल एक जित टाढा रहेको छ । इरानसँग लिग चरणमा भोगेको हारको बदला लिँदा नेपालले पहिलो सेट २५–२१ र दोस्रो सेट २८–२६ ले जितेको थियो । नेपालले अन्तिम सेट २५–२० ले बाजी मार्‍यो । नेपालले दोस्रो र तेस्रो सेटमा इरानको युवा टोलीबाट कडा चुनौती पाएको थियो । यी दुवै सेटको एक समयमा इरानले उपाधि दाबेदार नेपालमाथि अग्रता बनाएको थियो । नेपालले संयमित हुँदै खेलमा नियन्त्रण राख्दा इरानी खेलाडी हाबी हुन पाएनन् ।

भारतसँगको भेट नेपाली टोलीका लागि पाँच वर्षअघि घरेलु मैदानमा भोगेको हारको बदला लिने अवसर समेत हो । सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको फाइनलमा घरेलु टोली नेपाल र भारत भेट भएका थिए । त्यतिबेला नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । त्यसको पाँच वर्षपछि अर्थात आज नेपाली टोलीमाथि त्यो हारको बदला लिने उत्कृष्ट अवसर आएको छ ।

Published Date: 07 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास