सिमलताल दुर्घटनाः अझै फेला परेनन् बस र ३८ यात्रु, फर्किए भारतीय गोताखोर

सिमलताल दुर्घटनाः अझै फेला परेनन् बस र ३८ यात्रु, फर्किए भारतीय गोताखोर : Icon Khabar

चितवन, साउन १३ भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरासहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन् । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरासँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य सुरू भएको १६ दिनसम्म पनि बस तथा धेरै यात्रु अझै फेला पर्न नसकेका हुन् ।

नेपाल सरकारले खोजीका लागि बोलाएको भारतीय गोताखोरसहितको टोली परिचालन गर्दासमेत बसको अवस्थाबारे जानकारी लिन नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । साउन ५ गतेदेखि यहाँ आएर खोजी कार्यमा लागेको भारत सरकारको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोलीले आजबाट फर्किएको छ । खोज तथा उद्धारका क्रममा आफूहरूले पाएको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने गरी टोली फिर्ता भएको हो ।

प्रमुख जिल्ला अधिकारी यादवले साउन ४ गतेपछि हालसम्म शव र बसका अवशेषसमेत फेला पर्न नसकेको बताए । त्यसअघि विभिन्न ठाउँमा गरी २४ जनाको शव भेटिएको भए पनि अन्यको शव भेटिन नसकेको उनले जानकारी दिए ।

भारतीय गोताखोरसहितको टोलीले घटनास्थल सिमलतालदेखि गाईघाटसम्मको तीन दशमलव पाँच किलोमिटर क्षेत्रफलमा बस हुन सक्ने अनुमान गरेको प्रजिअ यादवले बताए । उनले भने, “बस नै हो भन्ने एकीन नभए पनि केही वस्तु छ भन्ने अनुमान उहाँहरूको छ । त्यहीअनुसार खोजी कार्य जारी राखेका छौँ । भारतीय टोली फर्किए पनि नेपालको टोलीले खोजी जारी राखेको छ । नदीको गहिराइ, पानीको बहावअनुसारका उपकरण अभावका कारण खोजीमा कठिन भएको छ ।”

प्रजिअ यादवले माटोमा पुरिएको अवस्थामा अहिले प्रयोग भएको सोनाल क्यामेरालगायतका अन्य उपकरणले सवारी साधन र शवको पहिचान गर्न कठिन हुने बताए । भारतीय टोलीले ल्याएको उपकरणबाट पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने भए पनि नदीको गहिराइका कारण केही पत्ता लाग्न नसकेको उनको भनाइ छ ।

यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरासँगै त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएका थिए ।

बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएकामा तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाई सकिएको छ । अन्य छ शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बसको अवस्था पत्ता लाग्न बाँकी छ ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार नदीमा बेपत्ता भएका यात्रुहरूलाई मृत सरह घोषण गरी राहतका लागि गृह मन्त्रालयसँग अनुरोध गरिएको छ । राहतका लागि पत्र पठाइए पनि अर्को निर्देशन नभएसम्म खोजी कार्य जारी राखिने उनले बताए ।

Published Date: 28 July 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय